मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'हिट एन्ड रन' मुद्दाको फैसला गर्ने न्यायाधीश भन्छन् - गाडीको गति सामान्य देखियो, अल्झिनुपर्ने कुरै छैन

'हिट एन्ड रन' मुद्दाको फैसला गर्ने न्यायाधीश भन्छन् - गाडीको गति सामान्य देखियो, अल्झिनुपर्ने कुरै छैन

‘ती महिलालाई ठक्कर दिँदा गाडीको गति २०-२५ किलोमिटर प्रतिघण्टा रहेको पाइयो, तर यो गति त सामान्य नै होइन र? तपाईं हामी चढ्ने गाडीको सामान्य गति पनि त्यति नै हो, यसमा अल्झिरहनुपर्ने कुनै ठूलो कुरा छैन।’
 |  बिहीबार, चैत १०, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बिहीबार, चैत १०, २०७८

काठमाडौं- बुढानिलकण्ठमा भएको कार दुर्घटना (हिट एन्ड रन) मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको फैसला विवादित बनेको छ। ०७६ मंसिर २८ गते मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले चलाएको कारले सडकपेटीमा हिँडिरहेकी ४० वर्षीया लीला देवकोटालाई ठक्कर दिएको थियो। जसको कारण लीलाको मृत्यु भएको थियो। 

triton college

ठक्कर दिने उनै मल्ललाई काठमाडौं जिल्ला अदालतले सोमबार ६ महिना जेल सजाय र एक हजार रुपैयाँ जरिवाना गरेको छ। मादक पदार्थ सेवन गरी दुर्घटना गराएर ज्यान लिएको मुद्दामा निकै कमजोर र फितलो फैसला गरेको भन्दै अदालतको कार्यसम्पादन प्रति नै प्रश्‍नहरु उठ्न थालेका छन्। 

हिट एन्ड रन मुद्दामा फैसला गर्ने न्यायाधीश सूर्यप्रसाद अधिकारीले आफूलाई प्राप्त मिसिल र प्रमाणको आधारमा नै फैसला गरेको दाबी गरेका छन्। मेडिकल रिपोर्टले चालक रोगी भएको प्रमाणित गरिसकेको पनि न्यायाधीश अधिकारीले बताए। उनले नेपाल समयसँग कुराकानी गर्दै भने, ‘ती महिलालाई ठक्कर दिँदा गाडीको गति २०-२५ किलोमिटर प्रतिघण्टा रहेको पाइयो, तर यो गति त सामान्य नै होइन र? तपाईं हामी चढ्ने गाडीको सामान्य गति पनि त्यति नै हो, यसमा अल्झिरहनुपर्ने कुनै ठूलो कुरा छैन।’ 

प्रहरी अनुसन्धानको प्रतिवेदन अनुसार उक्त घटना अनजानमा भएको पनि न्यायाधीश अधिकारीले जिकिर गरे। ‘मैले मेरो तर्फबाट फैसला जारी गरिसकेँ’, उनले भने, ‘अब उहाँहरु पुनरावेदनको लागि उच्च अदालत जान सक्नुहुन्छ।’

सरकारी वकिलको कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसार चालक मल्लविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। दफा १६१ (२) मा भनिएको छ, ‘कसैको ज्यान मर्न सक्छ भन्‍ने अवस्था देखिँदादेखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे-बसेको मान्छे, त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।’ 

Metro Mart
vianet

तर, जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले दफा १६१(३) अनुसार ६ महिनाको जेल सजायको फैसला गरेको हो।

जिल्ला अदालतले अझै लिखित फैसला पठाएको छैन, दुई चार दिनमा पठाउँछ होला। त्यसपछि हामी पुनरावेदनको लागि उच्च अदालत जान्छौँ।

घटना र चालकको बयान

२७ मंसिर ०७६। बिहान १०:१९ बजे। 

बुढानिलकण्ठ प्रहरी कार्यालयदेखि विष्णुमति खोलातर्फको सडकपेटीमा लीला देवकोटा (मृतक) मन्दिरबाट फर्किरहेकी थिइन्। यत्तिकैमा बा १४ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दियो। उनी घाइते भइन्। उनलाई न्युरो अस्पताल बाँसबारी पनि पुर्‍याइयो। तर त्यहाँ पुर्‍याउनेवित्तिकै डाक्टरले मृत घोषणा गरे। 

यद्यपि, चालक मल्लले भने आफ्नो लापरबाहीका कारण दुर्घटना हुँदा ती महिलाको मृत्यु भएको स्वीकार गरिसकेका छन्। उनले बयानमा भनेका छन्, ‘रातभरको अनिँदो र डेनिअल्स रक्सीले म झ्याप थिएँ। बूढानीलकण्ठको पुल कटेपछि कार अनियन्त्रित भई विपरीत दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि झ्ल्याँस्स ब्युझिएँ।’

चालक मल्लको स्वीकारोक्ति हुँदा पनि जिल्ला अदालतले किन माग दाबी गरिएको सजाय फैसला गर्न सकेन? भन्‍ने प्रश्‍नहरु उठेका छन्। 

उनले अत्यधिक मदिरा सेवन गरेर सवारी चलाएको र उनीसँग लाइसेन्ससमेत नभएको पनि प्रहरी अनुसन्धानमा स्पष्ट छ। तर मल्ललाई १० वर्षसम्म कैद सजाय माग गरी सवारी ज्यान मुद्दा दायर भए पनि अदालतले आंशिक दाबी पुग्‍ने मात्र फैसला गरेका छन्। फैसलाको पूर्णपाठ सार्वजनिक भइसकेको छैन। यदि पूर्णपाठ सार्वजनिक भएमा के-को आधारमा यस्तो आंशिक दाबी पुग्‍ने फैसला भयो भन्ने अन्योलता सपष्ट हुनेछ। 

अब जेल जानुपर्दैन

जिल्ला अदालतले सवारी ज्यानसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश दिएपछि चालक मल्ललाई ०७६ पुस २३ गते कारागार चलान गरिएको थियो। करिब ७ महिना उनले डिल्लीबजार कारागारमा बिताए। यही क्रममा जिल्लाले पुर्पक्षका लागि थुनामा राख्‍ने आदेशविरुद्ध मल्ल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिए। 

सर्वोच्च अदालतले ०७७ असार ३१ गते उनलाई धरौटीमा छोड्न आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोज शर्माको संयुक्त इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। 

तर, अब अहिले जिल्ला अदालतको आदेश अनुसार मल्लले अब जेल जानु पर्दैन। किनकि चालक मल्लले जिल्ला अदालतले फैसाल गरेको जेल सजाय ६ महिनाभन्दा बढी उनले यसअघि नै भुक्तान गरिसकेका छन्। अब उनले अदालतले फैसला गरेको जरिवाना एक हजार रुपैयाँ दिए पुग्छ। 

जिल्ला सरकारी वकिलको कार्यालय भने जिल्ला अदालतको फैसलासँग सन्तुष्ट छैन। पहिल्यैदेखि यस घटनामा अदालतभित्र शंकास्पद गतिविधि हुँदै आएको जिल्ला सरकारी वकिलको कार्यालयको आरोप छ। 

जिल्ला अदालतले अपराधीलाई पक्षपोषण गरेर कमजोर फैसला गरेको भन्दै पुनरावेदनको लागि उच्च अदालत जाने तयारी भइरहेको सरकारी वकिल कार्यालयका एक अधिवक्ताले जानकारी दिए। जिल्ला अदालतले अहिले मौखिक रुपमा मात्र फैसला सुनाएको र लिखित रुपमा आफूहरुलाई फैसला पठाएपछि उच्च अदालत जाने ती अधिवक्ताले स्पष्ट पारे। उनले भने, ‘जिल्ला अदालतले अझै लिखित फैसला पठाएको छैन, दुई चार दिनमा पठाउँछ होला। त्यसपछि हामी पुनरावेदनको लागि उच्च अदालत जान्छौँ।’ 

दुई वर्ष पुरानो घटनामा जिल्ला अदालतले नै शंकास्पद फैसला गर्नु अस्वभनीय भएको उनले तर्क गरे। ‘मिसिल छ, प्रमाण छन्, घटनाका प्रत्यक्षदर्शी छन्, सीसी क्यामेराको फुटेज छन्’, उनले भने, ‘र पनि अदालतले न्यायोचित फैसला गर्न सकेन।’ 

त्यसो त दुर्घटनामा ज्यान गुमाएकी महिलाका आफन्तीहरु पनि जिल्ला अदालतको फैसलासँग सन्तुष्ट छैनन्। 

गम्भीर छैनन् परमिता 

दुर्घटना हुँदा गाडीमा चार जना सवार थिए। प्रहरीले सुरुमा तीन जनाको नाम मात्रै सार्वजनिक गरेको थियो, पृथ्वी मल्ल, करिश मास्के र एलिना थापा। तर त्यसको केही दिनमै चौथो पात्र मोडल परमिता राणाले आफैं सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एक्सपोज भइन्। 

उनले भनेकी थिइन्, ‘म चाहन्छु कि यो सत्य नभइ एक डरलाग्दो सपना होस् । तर, म पनि कारभित्रको एक यात्रु थिएँ।' तर केही दिनअघि सार्वजनिक भएको एक पोडकास्टमा उनले हाँस्दै भनिन्, ‘म सक्ड थिएँ।’

सञ्जय गुप्ताको पोडकास्टमा यस घटनाबारे मोडल राणाको अभिव्यक्तिहरु र हाउभाउ नियाल्दा उनी यस घटनाप्रति रत्तिभर पनि गम्भीर नभएको स्पष्ट हुन्छ। त्यो घटनामा एक महिलाको ज्यान गएको थियो भन्नेकुरा मोडल राणालाई कुनै रोचक कथा जस्तो लागेको देखिन्छ। र त उनले संवेदनाहीनजस्तै बनेर हाँसी-हाँसी घटनालाई ब्रिफिङ गरेकी छन्।

प्रकाशित: Mar 24, 2022| 08:16 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।