काठमाडौं- नेपाली कांगेसको शेखर समूहले चुनावी तालमेलका विषयमा केन्द्रीय समितिबाटै टुंगो लगाउनुपर्ने अडान राखेको छ।
बुधबार बसेको शेखर समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो। केन्द्रीय समितिबाट निर्णय नगरी सभापति वा अन्य नेताहरूले गठबन्धनका पक्ष वा विपक्षमा बोल्दै हिँड्न नहुनेसमेत समूहको निष्कर्ष छ।
विधानले चार तहको संसदीय बोर्डलाई विभिन्न तहमा चुनावी तालमेलका विषयमा निर्णय गर्ने अधिकार दिएको छ। त्यसैले केन्द्रीय संसदीय बोर्डले तीनवटा संसदीय बोर्डको अधिकार कटौती गरेर निर्णय लिन नसक्ने उक्त समूहले निष्कर्ष निकालेको हो।
केन्द्रीय संसदीय बोर्डले महानगरपालिकाका उम्मेदवार मात्र टुंगो लगाउन सक्छ। त्यो बाहेकका स्थानीय तहमा प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, जिल्ला संसदीय समिति र प्रदेश संसदीय समितिले निर्णय लिने व्यवस्था विधानमा छ।
सोही कारण विधान मिचेर तीन वटा संसदीय समितिको अधिकार कटौती गर्नेगरी चुनावी तालमेलका विषयमा सभापतिले एकल निर्णय गर्न नसक्ने निष्कर्ष बैठकको छ।