काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताएका छन्।
राजनीतिशास्त्री समाजद्वारा काठमाडौंको पीके क्याम्पसमा बुधबार आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताएका हुन्।
‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउने मात्रै काम गर्छ। यसले देशलाई उपलब्धि दिन सक्दैन,’ नेता पौडेलले भने। जनता र नजजीविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने प्रकृतिको गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो। ‘विचार, विषयसँग सामीप्यता भएको समाजवाद प्राप्ती र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ,’ पौडेले भने।
२०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरताका लागि भनेर गठबन्धन गरेको तर चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण पनि गरे।
‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो। चुनाव जितेपछि उहाँ जति अस्थिर कोही भएन,’ पौडेलले भने, ‘त्यस्तो गठबन्धन गर्नुहुँदैन। स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ।’