काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको सबैभन्दा ठूलो र प्रमुख पार्टी भएको बताएका छन्।
केन्द्रीय कमिटीको तेस्रो बैठकको पहिलो दिन बोल्दै उनले लोकतान्त्रिक आन्दोलनको मूलधारसमेत नेकपा एमाले नै रहेको दाबी गरेका हुन्।
‘१९९१ सालमा स्थापित प्रजापरिषद पनि हामीसँगै समाहित भएको छ। अनेक हिसाबले नेकपा एमाले सबैभन्दा पुरानो र मूलधारको पार्टी हो’ उनले भने, ‘इतिहासको विरासत हामीसँग छ। आजको चुनौतिको सामाना गर्दै हामीले नै देशलाई समृद्ध तुल्याउने अभिभारा लिएका छौं।’
स्थानीय निर्वाचनअगाडि अर्को पूर्ण बैठक नहुने भएकाले एमालेले यो बैठकलाई निकै महत्त्वका साथ लिएको छ। अध्यक्ष ओलीले सम्बोधनको क्रममा यो बैठकबाट आउँदो स्थानीय निर्वाचनमा एमालेलाई पहिलो दल बनाउने आरम्भबिन्दु भएको बताउँदै एमालेसँग पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा हाल ११ लाख सदस्य पुगेको उल्लेख गरे।