काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्ने पार्टी कांग्रेस भएको बताएका छन्। बुधबार राजधानीको संखमुलमा 'घर-घर जाऔं, कांग्रेस जिताऔं' अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले देशमा ठूला राजनीतिक परिवर्तनको नेतृत्व गर्ने एक मात्र पार्टी कांग्रेस भएको दाबी गरे।
'राजनीतिक अस्थिरताबाट कांग्रेसले मात्र निकास दिनसक्छ। अहिलेसम्मको इतिहासलाई हेर्ने हो भने कांग्रेसकै नेतृत्वमा ठूला राजनीतिक परिवर्तन भएका छन्,' उनले भने।
देशलाई संकट पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनु पर्ने बेला ढुलमुले कुरा गर्ने कम्युनिस्ट चरित्र अहिले पनि फेरिन नसकेको नेता सिंहको आरोप छ। उनले क्रान्तिकारी भाषण दिएर मात्र देश परिवर्तन नहुने बताएका छन्।
जनताले कम्युनिस्टहरूको ढुलमुले चरित्र बुझिसकेकाले अबको रोजाइ कांग्रेस भएको बताएका छन्। 'कांग्रेसले मुलुकको राजनीति, सामाजिक र आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। अरू पार्टीले कुरा धेरै गर्छन्। कांग्रेसले काम धेरै गर्छ,' उनले भने।
उनले जनतामा गएर कम्युनिस्ट चरित्रको भण्डाफोर गर्नुपर्ने बताएका छन्।