जनकपुर- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन्।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भईरहेको बताएका हुन्।
मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे।
अध्यक्ष ठाकुरले संसदको आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने कुरा प्रधानमन्त्री देउवासँग भएको जानकारी समेत गराएका थिए। 'सरकारले आफूहरुको मागलाई ठोस रुपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै पार्टी सरकारमा सहभागी हुन्छ,' उनको अडान छ।
अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनैपनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको बताए।