काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन यही चैत १० र ११ गते काठमाडौंमा हुने भएको छ। मंगलबार एनआरएनएले पत्रकार सम्मेलन गर्दै विधानसम्मत रुपमा दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले चैत १२ र १३ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भने पनि केही परिमार्जन गरेर १० र ११ गते गर्ने निर्णय भएको जानकारी दिए।
उनले गैरआवासीय एक र एकतावद्ध रहने दाबी गरे। एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए। अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको बताए।
उनले भने, ‘गैरआवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ। एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै जानेछ।’
अध्यक्षका उम्मेदवार बद्री केसीले अहिलेको अवस्थामा संस्थामा बृहत् आम सहमति गर्नुको विकल्प नभएको बताए। उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए।
अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए। उनले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि बताए।
अध्यक्षकै अर्की प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर अघि लैजान गाह्रो भएको धारणा राखिन्।
उता, एनआरएनएका प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीलाई प्रमुख अतिथि बनाएर एनआरएनएको १० औं विश्व सम्मेलन आयोजना गरेका छन्। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा अर्थमन्त्री जनार्दन शर्माले सम्मेलन उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको बताए। विधान मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे। टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ। ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं। तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस्,’ उनले भने।
एनआरएनएका प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास गरेर सम्मेलनमा उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको बताए। अर्थमन्त्री शर्माको प्रशंसा गर्दै घलेले उनलाई भविष्यको प्रधानमन्त्रीको रुपमा आफूले देखेको सुनाए।
तीव्र विवादमा फसेको एनआरएनएमा हिजो राति विवाद मिलेपछि सम्मेलन सुरु भएको हो। अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए। त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ।
पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए। धेरै देशहरुबाट प्रतिनिधि आइसकेको भन्दै उनले निर्वाचनको काम अघि बढ्ने बताएका छन्।
सम्मेलनमा पूर्वअध्यक्ष घलेले सबै गैरआवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताए। सबै नेपालीबीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उनको भनाइ थियो। घलेले अहिले संस्थामा भूकम्प गएको र त्यो भूकम्पबाट आफूले धेरै कुरा सिकेको बताए।
एनआरएनएको विवाद मिलेको बताइए पनि पूर्वअध्यक्ष घलेले भने त्यसबारे आफूलाई थाहा नभएको बताए। सोमबार राति अबेरसम्म भएको दुईपक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति भएपछि विवाद मिलेको बताइएको थियो। विधान संशोधन गरेर आवश्यक व्यवस्था गर्ने सहमति भएको छ। सहमति जुटेपछि शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनेको छुट्टै महाधिवेशन रोकिने भएको छ।