काठमाडौं- अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टीमा स्वागत गरेकी हुन्।
कार्यक्रममा छोटो मन्तव्य राखेकी मानन्धरले एमाले प्रवेश गर्नुका तीन कारण पनि खुलाएकी छन्। यस्तै पार्टीले आफूलाई कुनै जिम्मेवारी दिए पछि नहट्ने समेत उनले उल्लेख गरिन्।
माननन्धर यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ पार्टीमा केन्द्रीय सदस्य थिइन्। नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकीकरण भएपछि मानन्धर निष्क्रिय बनेकी थिइन्।
मानन्धर एमाले प्रवेश गर्नुका तीन कारण उनकै शब्दमा
तीन दशक मैले चलचित्र क्षेत्रमा काम गरेँ। अझै पनि गरिरहेकी छु। भर्खरै पनि सुटिङबाट आएकी छु। यो सबै मैले देशका लागि नै गरेकी हुँ। मैले राम्रो पहिचान पनि यही क्षेत्रबाट पाएँ। यो क्षेत्रमा लागेर गरेका बलिदान पनि गरेकी छु।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूगोलका नेपालीहरूले 'यहाँ रोकिनु हुँदैन' भनेर मलाई हौसला दिइरहनु भयो। यसैकारण पछिल्लो समय मेरा गतिविधिले पनि यो प्रमाणित गरेको छ। भर्खरै मैले ८ कक्षामा प्रवेश गरेँ। अहिले स्नातक अध्ययन गरिरहेकी छु।
पहिलो, कुरा त नेता जनताको पथप्रदर्शक हो। त्यो म केपी ओलीजीमा पाउँछु। उहाँको ऊर्जा देखेर म ताजुब भएकी छु। ६ महिनामा दुई पटक भेट्दा मैले उहाँमा पाएको ऊर्जाले मलाई चकित बनाएको छ। उहाँको गुणगान गर्ने मान्छेहरू म धेरै पाउँछु। एमालेका विरोधीहरूपनि उहाँको ऊर्जाको प्रशंसक भएको मैले भेटेकी छु।
दोस्रो, समृद्धिको वास्तविक एजेन्डा एमालेले बोकेको छ। त्यसकै कारण पनि म यसमा जोडिएकी हुँ। महिला र सीमान्तकृत वर्गलाई यो पार्टीले प्राथमिकतामा राखेको छ।
तेस्रो, धेरै क्षेत्रको मानिसलाई म सोध्ने गर्छु। सबैले एमालेलाई मन पराएको बताउँछन्। त्यसैले पनि म एमाले प्रवेश गरेकी हुँ।
म नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरूसँग जोडिन आएकी छु। कुनै फाइदाका लागि होइन। तर मलाई कुनै जिम्मेवारी दिइन्छ भने म पछि हट्दिनँ। म यो अभियान र आन्दोलनमा जोडिन आएकी छु। यो पार्टीका आगामी दिन सुनौला हुने मैले देखेकी छु।