काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच एकताको आधार तयार पार्नुपर्ने बताएका छन्। तत्काललाई चुनावी गठबन्धनको वातावरण बनाएर भविष्यमा बामपन्थी दलहरूबीच एकतामा जानुपर्नेमा उनको जोड छ।
एमाले, माओवादी र एकीकृत समाजवादीसहित बाम एकताको आवश्यकता र औचित्यबारे मंगलबार आफ्ना धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी रहेको बताए। उनले भने, ‘अनुभवले के बताउँछ भने नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन। नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले, हामीले बुझिसकेका छौं। त्यो हाम्रो पार्टीभित्र पनि कमरेड ओलीलाई केही बुझाउनपर्ने बाँकी छ, नत्र भने सबैले बुझेका छन्। स्थायी कमिटी, पोलिटब्युरो सदस्य सबैले बुझेका छन्। तल कार्यकर्ताले पनि बुझेका छन्।’
कम्युनिस्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबीच एकताको विरोधमा लागिरहेको भुसालको भनाइ छ। इमानदार कार्यकर्ताहरूले एकताको तितो अनुभवबाट बिच्किएर विरोध गरेको र उनीहरूलाई प्रशिक्षित गरेपछि त्यो विरोध भने साम्य हुने उनले दाबी गरे।
पार्टीका नेताहरूबीच विगतमा भएगरेका क्रियाकलापको जिम्मेवारी लिने काम भएमा वामपन्थी एकताबारे सहज हुने भुसालको भनाइ थियो। अहिले एकले अर्कालाई आरोप लगाइरहेकाले समस्या भएको उनले बताए। भने, ‘माधव नेपाल र प्रचण्डको आँखाबाट हेर्दा ओली कम्युनिस्ट आन्दोलनको खतरनाक तत्व हो। ओलीले माधव नेपाल र प्रचण्ड खतरनाक तत्व हुन् भन्ने। बाहिर रहेकाले यी दुवै खतरनाक तत्व हुन् भनेका हुन् किनकि कम्युनिस्ट–कम्युनिस्ट भिडिरहेका छन्।’
कम्युनिस्ट पार्टीका नेताहरूबीच कृत्रिम दूरी बनाइएको भुसालको भनाइ छ। विगत १४ महिनामा कम्युनिस्ट पार्टीहरूमा भएका गतिविधिको जिम्मेवारी लिने वातावरण भएमा आगामी दिनमा सहकार्य र एकताको वातावरण बन्ने उनले बताए। भुसालले भने, ‘जुन खालको विभाजन र गालीगलौज छ, त्यसमा एकैचोटी पार्टी एकतामा जान सकिन्न। तर, विगत १४ महिनामा जे भए त्यो विभाजनमा हामी सबै जिम्मेवार छौं भन्ने लागेमा हामी सबै जिम्मेवार छौं भन्ने भयो भने यो चुनावमा गठबन्धन बन्न सक्छ। हामीले गल्ती गरेका छौं, हामीले गल्ती नगरीकन अरुले आएर फोडिदिएको हो भन्ने बाहेक लाग्यो भने गठबन्धनको सम्भावना छ। राजनीतिक रूपले यो सम्भावना प्रशस्त छ।’
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनले पार्टीहरुमा समस्या ल्याएको भुसालको विश्लेषण थियो। कम्युनिस्ट विभाजनको कारक रहेको पुस ५ विघटनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले किनारा लगाइसकेकाले नयाँ शिराबाट अगाडि बढ्नुपर्ने उनको सुझाव छ।
उनले भने, ‘संसद् विघटन गर्नु हुन्थ्यो कि हुन्नथ्यो भन्ने संविधानअनुसार टुंगिइसकेको छ। त्यो निर्णय गलत थियो भनेर जाने हो भने यो संविधान भत्किन सुरु गर्छ। अब पनि यसखालका विघटन ठीक छन् भनेर जानु भनेको सोझो रूपमा अस्थिरताको बाटोमा हिँड्नु हो, यसमा एमाले जान्न।’ कम्युनिस्ट पार्टी विभाजन हुने राजनीतिक कारणको संवैधानिक रूपमा नै टुंगो लागिसकेको भुसालको भनाइ थियो। वैचारिक र सैद्धान्तिक रूपमा एमाले, माओवादी र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको दोहोर्याए। यस्तो अवस्थामा निर्वाचनमा सहभागी हुने कम्युनिस्ट पार्टी फरक फरक रहनुपर्ने आवश्यकता नभएको उनको भनाइ थियो।
भुसालले सोमबार एमालेको पोलिटब्युरो बैठकमा पनि कम्युनिस्ट पार्टीहरूबीच चुनावी तालमेल र पार्टी एकताको कुरा राखेका थिए।