मंगलबार, भदौ २, २०८३

स्थानीय निर्वाचनमा गठबन्धन नगर्न यस्ता छन् शेखर कोइरालाका तर्क

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसको अवस्था ०७४ सालको जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसको अवस्था ०७४ सालको जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन्। 

तल्लो तहका कार्यकर्ताले भेटका क्रममा वा फोन गरेर गठबन्धन गर्नु हुँदैन भनेको कोइरालाले सुनाए। ‘विभिन्न जिल्लाका साथीहरुसँग फोनमा, भेटघाटका क्रममा कुराकानी हुन्छ। उहाँहरुको कुरा गठबन्धन गरेर जान हुँदैन भन्ने छ। गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,’ कोइरालाले भने, ‘तर, हामीले एउटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ। त्यो भनेको ०७४ सालको निर्वाचनमा एमाले र माओवादी जसरी मिले, त्यसरी नै फेरि मिल्न सक्छन् कि भन्ने हामीलाई चिन्ता छ।’

कोइरालाले गठबन्धन केका लागि भन्ने विषय प्रष्ट हुनुपर्नेमा पनि जोड दिए। भने,  ‘गठबन्धन केका लागि? अरु पार्टीलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीले कांग्रेसलाई पनि भोट हाल्नका लागि हो? त्यो विषयमा नेताहरुले सोच्नु आवश्यक छ। हामीले हालेको भोटले उनीहरु जित्ने अनि हामीलाई चाहिँ भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई चाहिँदैन।’

नेता कोइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्ने पनि बताए। उनले भने,  ‘कांग्रेसको आफ्नै सिद्धान्त छ। राष्ट्रियताको विषयमा छुट्टै छ, हामी उग्र राष्ट्रवादको कुरा गर्दैनौं, प्रजातान्त्रिक समाजवादको विषयमा छुट्टै सिद्धान्त छ, हाम्रो विचार भिन्दै छ, अनि हामी किन गठबन्धन गर्ने? स्थानीय तहमा त कुनै पनि हिसाबले केन्द्रले हस्तक्षेप गरेर गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा छु म। कतै स्थानीय स्तरमा त्यहाँका पार्टीहरुले आपसमा कुनै वडा दिएर मिल्दा जित्न सक्ने अवस्था बन्छ भने त्यो बेग्लै कुरा हो।’

०७४ सालमा कांग्रेससँग गठबन्धन गरेको माओवादी पछि गएर एमालेसँग मिलेको दृष्टान्त दिँदै उनले भने, ‘हामीले गठबन्धन गर्यौं, महन्थ ठाकुर, उपेन्द्र यादवलाई सिट छोड्यौं, कमल थापालाई सिट छोड्यौं, विक्रम पाण्डेलाई सिट छोड्यौं, अशोक राईलाई सिट छोड्यौं। तर नेपाली कांग्रेसलाई कसैले सिट छोडेन। कस्तो गठबन्धन हामीले गर्न खोजेको हो, क्लियर नभई कुनै पनि साँठगाँठमा हामी गयौं भने हामी ट्र्यापमा पर्छौं, हामी फस्छौँ जस्तो लाग्छ।’

अरु पार्टीका नेतालाई जिताउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउँदै उनले गठबन्धन गरेर जाँदा कांग्रेस कमजोर हुने तर्क गरे। निर्वाचनमा कांग्रेस जित्नका लागि सबै एक ढिक्का हुनुपर्ने उनको भनाइ थियो। उनले कांग्रेस एक ढिक्का भए अरूसँग मिल्नै नपर्ने पनि बताए। 

हिजो सोमबार पनि नेता कोइरालाले आशन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै जाने विषयमा कांग्रेस मझधारमा रहेको बताएका थिए। मोरङको सुन्दरहैंचामा आयोजित एक कार्यक्रममा कोइरालाले कम्युनिस्टसँग गठबन्धन गरेर जान खोजेको कांग्रेसलाई कम्युनिस्टले भोट दिने निश्चित नभएको बताए। त्यसैले कांग्रेस मझधारमा फसेको उनले बताएका हुन्।

‘कम्युनिस्ट क्याडर बेस्ड र कांग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहज भएको छ। कांग्रेसले डेमोक्रेटिक पार्टीसँग मात्रै गठबन्धन गरेर निर्वाचनमा जाँदा फाइदा हुन्छ र कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिन्छ,’ उनले भने।

निर्वाचनमा कम्युनिस्टसँग कांग्रेसको गठबन्धनको औचित्य नभएको कोइरालाको भनाइ थियो। पार्टीले गठबन्धनको जिम्मा स्थानीय तहमा छोडिदिनुपर्ने कोइरालाको तर्क छ। उनले कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्नुको सट्टा पार्टीभित्रको गुटउपगुट समाप्त गरी आन्तरिक रुपमा गठबन्धन हुनुपर्ने सुझाव दिएका थिए।

कोइरालाले भने, ‘कांग्रेसले निर्वाचन जित्नका लागि अन्य पार्टीसँगको गठबन्धन भन्दा पनि आफूभित्रै गठबन्धन हुनु आवश्यक छ। पार्टीभित्रको गुट र उपगुट समाप्त गरी एकजुट भएर निर्वाचनमा गए जितका लागि त्यो भन्दा ठूलो गठबन्धन अरु केही पनि हुँदैन।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताकार्यकर्तालाई विभेद गरेर अघि बढ्न खोजे पार्टीलाई घात हुने बताए। यस विषयमा पार्टी नेतृत्व गम्भीर बन्नु आवश्यक रहेको कोइरालाको भनाइ छ।

पार्टी कार्यक्रमको सिलसिलामा कोइराला केही दिनयता मोरङमा छन्।

प्रकाशित: Mar 22, 2022| 12:55 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...