काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरूलाई राहत र सम्मान उपलब्ध गराउनुपर्ने विषयमा छलफल गरेका छन्।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्।
त्यसक्रममा उनले सशस्त्र युद्धका क्रममा घाइते भई अपांगता भएकाहरूलाई सरकारका तर्फबाट सहयोग तथा सम्मानका लागि पाँच बुँदाामा ध्यानाकर्षण गराएका छन्।
१) सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ मा संशोधन गर्ने
२) सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगता भएकाहरुलाई सूचीकृत गर्ने
३) सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण गर्ने
४) जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने
५) सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने
आजै माओवादी अध्यक्ष प्रचण्डले वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ६ का निवासी पूर्व जनमुक्ति सेनाका योद्धा (सेक्सन कमान्डर) रानालाई भेट गरी प्रचण्डले उपचारको लागि अब खर्चको दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो। त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए।
टाउकोमा लागेको चोट फेरि बल्झिएपछि रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो। टाउकोमा नसा ब्लक भएपछि रानाको दुवै खुट्टा अप्रेसन गरेर फाल्नुपरेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरेका थिए। रानाकी श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले विदेशबाट पनि सहयोग जुटाउने काम भइरहेको बताए। प्रचण्डले रानाकी श्रीमती वर्षा रानाको रोजगारी र उनका ७ वर्षीय छोराको शिक्षादिक्षाका लागि पनि उचित पहल लिने प्रतिबद्धता व्यक्त गरे।