काठमाडौं– नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणापत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए। एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ।
स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछन्। त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ। प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताए। उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ।
विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोणलाई उम्मेदवार चयनका मुख्य मापदण्ड बनाइएको एमालेले जनाएको छ। त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताए।
पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यकताअनुसार प्रदेश र जिल्ला कमिटीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ।