सोमबार, भदौ १, २०८३

पार्टीको निर्णय स्वीकार नगरे चुनाव जित्न सकिन्न : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आसन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आसन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको बेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिए। 

‘निर्वाचनको बेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्छ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णणलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिँदैन।’

निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे। 

‘निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय होइन। चित्त बुझने भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने,' भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस्।’

आफूलाई नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रुपमा प्रस्तुत गर्दै पौडेलले सधैँ भरी प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे। 

‘कम्युनिस्टको भ्रमलाई चिर्ने गरी हामीमा क्षमता अभिवृद्धि गरौँ। म पनि नेतृत्वलाई औँला ठड्याउन कोशिस गर्ने मानिस हुँ। गलत भएको ठाउँमा गलत भन्ने मानिस हुँ। तर, त्यसो सधैँ भरी भनिरहन मिल्दैन,’ उनले भने। 

नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरु पनि सामाजिक सञ्जालमा नलेख्न नेताकार्यकर्तालाई सुझाव दिए। 

‘सामाजिक सञ्जालमा मनपरी नगर्नुस्। तपाईँले सामाजिक सञ्जालमा केही लेख्नुभो भने तपाईंको उन्नतिको सबैभन्दा बाधक त्यही हुन्छ,’ उनले भने, ‘किन भने त्यो प्रमाणका रुपमा सुरक्षित हुन्छ।’    

अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले भ्रमहरु कांग्रेसले उदाङ्गो पार्न नसकिरहेको पनि बताए। ‘एमसीसीका बारेमा कम्युनिस्टले भ्रम सिर्जना गरिरहेका छन्। त्यसलाई हामीले उदाङ्गो पार्न सकिरहेका छैनौँ,’ उनले भने।

प्रकाशित: Mar 21, 2022| 16:22 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...