दक्षिण एसियाली राष्ट्र श्रीलंकाको अर्थतन्त्र यतिबेला गम्भीर संकटमा फसेको छ। आर्थिक संकट गहिरिएकाले सोमबारदेखि सुरु हुने भनिएका विद्यालय तहका परीक्षा स्थगित भएका छन्। शिक्षा अधिकारीका अनुसार श्रीलंकासँग प्रश्नपत्र छाप्ने कागज र मसी किन्नका लागि पैसा नभएपछि परीक्षा सारिएको हो।
'विद्यालयका प्रिन्सिपलहरूले परीक्षा लिन सकेका छैनन्। कागज र मसी किन्नका लागि रकम अभाव भएका कारण परीक्षाहरू रोकिएका हुन्,' वेस्टर्न प्रोभिन्सको शिक्षा विभागले भनेको छ।
विदेशबाट कागज आयात गर्नका लागि देशसँग पर्याप्त रकम नभएपछि करिब ४५ लाख विद्यार्थीको परीक्षा रोकिएको हो। परीक्षा कहिलेसम्मका लागि स्थगित गरिएको भन्ने अनिश्चित छ।
परीक्षा नै सञ्चालन गर्न नसक्ने गरी देश गम्भीर आर्थिक संकटको चपेटामा परेपछि २ करोडभन्दा बढी जनताको जीवन अस्तव्यस्त बनेको छ।
दैनिक रुपमा अत्यावश्यक वस्तुको भाउ आकासिएको छ। केही सामग्रीहरुमा सरकारले कोटा प्रणालीमा आयात खुला गरेपनि जनजीवनमा नराम्रो प्रभाव परेको छ। विदेशी मुद्राको अभावका कारण खाद्य संकट निम्तिने संभावना बढिरहेको छ। इन्धनको अभाव बढेसँगै सवारी साधन पनि ठप्प हुने क्रम जारी छ। इन्धनका लागि पालो पर्खिरहेको अवस्थामा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
फेब्रुअरीको अन्त्यमा देशको विदेशी मुद्राको सञ्चिति २ अर्ब ३ करोड अमेरिकी डलरमा झरेको छ। यो हालसम्मकै सबैभन्दा कम भएको बताइएको छ। विदेशी मुद्राको सञ्चिति कम भएका कारण विदेशबाट सामग्री आयात गर्न श्रीलंकालाई समस्या परेको हो।
संकटका कारण
केही वर्ष अगाडि देशको आर्थिक अवस्था सुधार्न भन्दै तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग (आईएमएफ) आर्थिक सहायतका लागि अनुरोध गरेका थिए। केही सर्तका साथ कोषले श्रीलंकालाई आर्थिक सहयोग गरेको पनि थियो।
तर सन् २०१९ मा गोटवाया राजापाक्षेले राष्ट्रपतीय चुनाव जितेसँगै ती शर्तहरु निष्क्रिय गरिए। देशले ऋण थपिरह्यो। कुल ऋणमध्ये ३६ प्रतिशत बोन्डबाट मात्रै संकलन गरेको श्रीलंकाले जापान र चीनबाट पनि ऋण लिएको थियो। यी दुवै देशबाट श्रीलंकाले लिएको ऋण कुल ऋणको ११/११ प्रतिशत पुगेको छ।
श्रीलंकामा विदेशी मुद्रा भित्रिने प्रमुख श्रोत पर्यटन हो। पर्यटन क्षेत्र प्रभावित बनेसँगै साढे दुई लाखभन्दा बढीले रोजगारी गुमाइसकेका छन्। पर्यटन व्यवसाय चौपट बनेपछि विदेशी मुद्राको आम्दानीमा कमी आयो। विदेशी मुद्राको अभाव बढ्दै गएका कारण श्रीलंका संकटमा फसेको हो।
आतंकवादी हमलाका कारण पनि श्रीलंकाले विदेशी मुद्रा भित्र्याउन सकेको थिएन। सन् २०१५ ताका बढेका आतंकवादी हमलाले श्रीलंका अशान्त बन्यो। सन् २०१९ को अप्रिल २१ मा भएका शृंखलाबद्ध आत्मघाती बम हमला भएका थिए। यसले विदेशी पर्यटकको संख्या ह्वात्तै घटाइदियो। 'इस्टर सन्डे' का दिन ३ गिर्जाघर र कोलोम्बोका ३ होटेलमा आत्मघाती बम विस्फोट गराइएको थियो। सो हमलामा परि ४५ विदेशी नागरिकसमेत जम्मा २६९ जनाले ज्यान गुमाएका थिए।
श्रीलंकाली अर्थतन्त्र संकटमा फस्नुको मुख्य कारण विदेशी ऋणको भारलाई मानिन्छ। विभिन्न विकास कार्यका लागि भन्दै श्रीलंकाले चीनसँग मात्र ५ अर्ब डलरभन्दा बढी ऋण लिएको छ। त्यति नै ऋण जापान सँग पनि छ। पछिल्लो समय रुस-युक्रेन युद्धले पनि श्रीलंकाको आर्थिक समस्यालाई थप बढाइदिएको छ। रुस-युक्रेन युद्धसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।
श्रीलंकामा ऊर्जाका प्रमुख श्रोत जलविद्युत, कोइला र डिजेल प्लान्ट हुन्। वर्षा कम भएपछि कोइला र डिजेलको आयात बढेको थियो। तर अहिले यसको आयात बन्द भएपछि उद्योगधन्दामा थप संकट परेको छ।
मुद्राको अवमूल्यन भएर अहिले १ अमेरिकी डलर बराबर २७७ श्रीलंकन रुपैयाँ पुगेको छ। अवमूल्यनसँगै महंगी चुलिएको छ। महँगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध देशव्यापी प्रदर्शन भइरहेका छन्। देशमा आइपरेको संकटकालका लागि राजापाक्षे जिम्मेवार भएको भन्दै प्रदर्शनकारीले राजापाक्षेको राजीनामा माग गरेका छन्।
के गर्दैछ सरकार?
यसै वर्ष मात्र श्रीलंकाले चीनलाई १ करोड अमेरिकी डलरभन्दा बढी ऋणको रकम चुक्ता गर्नुपर्नेछ। सरकारी खातामा विदेशी मुद्राको सञ्चिति कम भएकाले यो रकम तत्काल उक्त ऋण तिर्न नसक्ने भएपछि जनवरी १७ मा श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षे र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको भेटमा समयसीमा बढाइदिन आग्रह गरेका थिए।
'ऋण भुक्तानीको समयसीमा हेरफेर भए कोरोना महामारी सामना गरिरहेका बेला आर्थिक संकट टार्नका लागि हामीलाई ठूलो राहत हुने थियो,' राष्ट्रपति राजापाक्षेले चिनियाँ विदेशमन्त्री यीसँग भनेका थिए। श्रीलंकाले गरेको त्यस्तो आग्रहलाई चीनले अस्वीकार गरेको बताइएको छ। 'श्रीलंकाले पक्कै पनि यी समस्याबाट चाँडै उन्मुक्ति पाउनेछ,' यीले राजापाक्षेलाई भनेका थिए।
श्रीलंकाको आग्रहलाई चीनले अस्वीकार गर्नुका साथै ऋण भुक्तानी गर्न दबाब दिएपछि उसले भारतसँग सहयोगको याचना गरेको थियो। यसपछि भारतले २ अर्ब ४० करोड अमेरिकी डलरको सहयोग प्याकेज उपलब्ध गराएको थियो।
राष्ट्रपति राजापाक्षेले आईएमएफसँग पनि सहयोग माग गरेका छन्। विदेशी मुद्राको सञ्चिति बढाउन एवम् ऋण भुक्तानी व्यवस्थापन सहज बनाउन भन्दै सोमबार राष्ट्रपति कोलोम्बोका प्रतिनिधि आइएमएफसम्म पुगेका थिए। सरकारले अनुरोध गरे वित्तीय सहयोग र विकल्पबारे छलफल गर्न तयार रहेको कुरा श्रीलंकाका लागि कोषका मिसन प्रमुख मासाहिरो नोजाकीले बताएका छन्।
विदेशी मुद्राको सञ्चितिमा पर्ने भार न्यूनीकरण गर्न सरकारले विभिन्न वस्तुको आयातमा रोक लगाएको छ। ऋणको भार घटाउने प्रयत्नमा मल र गाडीको आयात रोकिएको छ। यसले बालीनाली र चिया उत्पादनमा समेत नकरात्मक असर परिरहेको छ। सरकारले भने आर्थिक संकट कम गर्नका लागि प्रयासहरू भइरहेको दाबी गर्दै आएको छ।
(एजेन्सीहरूको सहयोगमा विनायक कार्कीले तयार पारेको सामग्री)