सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'गठबन्धन र निर्वाचन आयोग मिलेका छन्, मतपेटिका आँखाबाट ओझेल हुन दिनु हुँदैन'

'गठबन्धन र निर्वाचन आयोग मिलेका छन्, मतपेटिका आँखाबाट ओझेल हुन दिनु हुँदैन'

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धन मिलेको आरोप लगाएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धन मिलेको आरोप लगाएका छन्। आयोगले आशन्न स्थानीय चुनावबारे सबै दलहरूसँग परामर्श नगरेकोमा पनि ओलीले असन्तुष्टि पोखे।

आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको ओलीको भनाइ छ। मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्ता गठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको उनले बताए। ओलीले भने, ‘आयोगले दलहरूसँग परामर्श गरेको छैन। मतपत्रको रङ बदल्दा सत्ता गठबन्धनसँग छुट्टै छलफल भएको छ। भित्रभित्रै रङ बदलेर हरियो रूख किन राख्नुपर्थ्यो? सकेदेखि अरू पनि हरियो बनाउन पर्थ्यो। सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त।’

सरकारले आयोगसँग छलफल गरेर मतपत्रमा हुने चिन्हको रङ हरियो बनाएको दाबी ओलीले गरे। यसपालिको चुनावमा मतपेटिका आफूहरूकै वरपर हुनुपर्ने ओलीले बताए। ‘यसपल्ट मतपेटिका हाम्रो आँखाबाट पर हुनु हुँदैन। हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ। मत गनेर नसकिँदासम्म मतपेटिका छोड्ने होइन। पहिले सुनसरी–३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ,’ ओलीले भने। आगामी स्थानीय निर्वाचनमा पनि भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका उनको छ।

अध्यक्ष ओलीले अहिले पनि निर्वाचन पर धकेल्ने षड्यन्त्रमा गठबन्धन र आयोग लागेको आरोप लगाए। आयोगका तीन जना पदाधिकारी खाली गराएर त्यही बहानामा निर्वाचन रोक्ने विषयमा गठबन्धन र आयोगबीच कुरा भइरहेको उनको दाबी छ ।

उनले थपे, ‘अझै पनि निर्वाचन टार्ने, नगराउने र पर धकेल्ने कलात्मक षड्यन्त्र भित्रभित्रै भइरहेको छ। सत्ता गठबन्धन र निर्वाचन आयोगबीच कतिपय संवैधानिक र कतिपय राजनीतिक कुरा भइरहेका छन्। तीन जना आयुक्तको नियुक्ति बदर गरिदियो भने दुई जनाले मात्रै निर्वाचन गराउन सक्छन् कि सक्दैनन् भन्ने ढंगले प्रश्न उठाउन खोजिएको छ। मूलतः हाम्रोविरुद्ध षड्यन्त्र भइरहेको छ।’ निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन उनले पार्टी पंक्तिलाई आग्रह गरे।

एमाले अध्यक्ष ओली बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै थिए। बैठकमाआसन्न स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। चितवनमा सम्पन्न १०औं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बसेको हो।

प्रकाशित: Mar 21, 2022| 13:21 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...