शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युद्ध र तस्करीबाट दक्षिण सुडानका पार्क जोगाइराखेकी बिबिआना

युद्ध र तस्करीबाट दक्षिण सुडानका पार्क जोगाइराखेकी बिबिआना

कफीकै क्रममा बिहानी गस्तीका लागि तयार पर्छिन् मार्टिन। काँधमा बन्दुक भिरेरै कफी सिद्ध्याउँछिन्, बोत्तलमा पानी बोकेर पार्कको गस्तीमा जाने रेन्जर पछ्याउँछिन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

दक्षिण सुडान- झाडीमा काम नगरेको र झाडीमै नबसेका दिन बिबिआना मार्टिनलाई खासै सम्झनामा छैनन्। १२ वर्षको उमेरमा रेन्जर बन्नका लागि हजुरबुबासँग अनुमति मागेदेखि नै ३२ वर्षीया बिबियानाले दक्षिणी सुडानका वनजंगल संरक्षण गर्दै आएकी छन्। विद्यालय पठाउने खर्च परिवारले धान्न नसक्ने भएपछि बिबियाना रेन्जरतर्फ आकर्षित भएकी थिइन्। 

National life

‘तिमी सानै छ्यौ, रेञ्जर बन्न उमेर पुग्दैन,' वनका अधिकारीले भनेका थिए। तर यो कुरा सुन्न उनले अस्वीकार गरिन्। 'म विद्यालय जान्नथेँ। मलाई घरमा त्यतिकै बस्ने चाहना पनि थिएन,' मार्टिनले हातको इसारा गर्दै भनिन्। संवादका क्रममा धेरैजसो समय उनी मुस्कुराउँथिन्।

सेन्ट्रल अफ्रिकन रिपब्लिकको सीमानजिकै दक्षिणी सुडानको बङ्गाङ्गाई संरक्षण क्षेत्रको एक किनारामा रहेको रेन्जर आउटपोस्टमा भएको सानो अगेनोको आडैमा बसेर उनी बिहानी कफीको चुस्की लिन्छिन्। दुर्गम मानिने यो पोस्टमा आधारभूत आवश्यकता सामग्री मात्रै छन्। पोस्टमा खरले छाएका थुप्रै ससाना झुप्राहरूको लाइन छ। प्रत्येक छाप्राको नजिकै बगैँचा पनि छ। रेन्जरहरूले त्यहाँ आफूलाई चाहिने तरकारी उब्जाउँछन्। भान्सामा काठका थोरै बेन्च र प्लास्टिकका कुर्ची मिलाएर राखिएको छ। केही भाँडाकुँडा र सानो चुल्हो छ जहाँ रेन्जरहरूले आलोपालो प्रणालीमा खानेकुरा पकाउँछन्। 

मार्टिन खुला स्वभावकी छन्। रेन्जरहरूसँग आफ्नो विगत सेयर गर्दा उनी कहिलेकाहीँ 'नोस्टाल्जिक' पनि बन्छिन्। रेन्जरपोस्टमा २५ मध्ये ३ जना मात्रै महिला अधिकृत छन्। लामो समयको द्वन्द्वका कारण स्रोतको अभावका बाबजुध चोरी सिकारी तथा वनजंगल विनाशविरुद्ध लड्ने मार्टिन पनि त्यही पोस्टकी महिला कर्मचारी हुन्। 

बंङ्गाङ्गाई संरक्षण क्षेत्र करिब १७० वर्गकिलोमिटर (६५.६ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ। यो दक्षिण सुडानका १९ संरक्षित क्षेत्र, १३ वन्यजन्तु आरक्ष र ६ राष्ट्रिय निकुञ्ज मध्ये एक हो। अन्य जनावरका साथै चिम्पान्जी, मृग र अफ्रिकी बिरालोको घर नै मानिएपनि यही क्षेत्रमा अहिले ती जनावर भेट्टाउन मुस्किल पर्छ। धेरै जनावर यो क्षेत्रबाट भागे वा ५ वर्ष लामो गृहयुद्धका बेला मारिए। सन् २०१३ देख २०१८ सम्म चलेको दक्षिणी सुडानको गृहयुद्धका कारण करिब ४ लाख मानिस मारिएका थिए भने लाखौँ घर छोडेर भागेका थिए। गृहयुद्धका बेला सशस्त्र समूहले पार्क (आरक्ष)लाई नै बासस्थान बनाएका थिए। 

Laxmi sunrise bank
kumari
कफीकै क्रममा बिहानी गस्तीका लागि तयार पर्छिन् मार्टिन। काँधमा बन्दुक भिरिभिरी कफी सिद्ध्याउँछिन्, बोत्तलमा पानी बोकेर पार्कको गस्तीमा जाने रेन्जर पछ्याउँछिन्। 

देशको यो भूभाग पनि युद्धको चपेटामा थियो। ताम्बुरा क्षेत्रमा सरकार र सशस्त्र समूहको लडाइँका कारण करिब ८० हजार मानिस विस्ठापित भएका थिए भने सयौँ मानिस मारिएका थिए। गृहयुद्धका बाबजुद पनि रेञ्जर पोस्ट भने केही शान्त रह्यो। यहाँका रेञ्जरहरू केही फरक गर्न खोजेको महसुस भएको र गृहयुद्धमा गुमाएका चिजको पुनर्स्थापना गर्ने प्रयास गरिरहेको बताउँछन्। 

कफीकै क्रममा बिहानी गस्तीका लागि तयार पर्छिन् मार्टिन। काँधमा बन्दुक भिरिभिरी कफी सिद्ध्याउँछिन्, बोत्तलमा पानी बोकेर पार्कको गस्तीमा जाने रेन्जर पछ्याउँछिन्। 

जंगलमा बिबियाना रमाइलो गरिरहेकी हुन्छिन्। जंगलमा गस्ती मात्रकै बोझ लिनुभन्दा पनि नाच्ने र उफ्रिने पनि गरिरहन्छिन्। कतै जनावरका निस्सा पो छन् कि भनेर जमिन र रुखतिर नजर डुलाउँछिन्। जनावरका पदचाप (जमिनमा परेका पाइलाको छाप) देख्नबित्तिकै रेन्जरहरू रोकिएर जीपीएस लोकेसन रेकर्ड गर्छन्। 

एक दिनका लागि मात्र गस्ती जाँदा केही घण्टा लाग्छ। तर उनीहरु ५ देखि ८ दिनसम्मका लागि गस्ती जान्छन्। त्यसबेला उनीहरूको टिम नै जंगलमा टेन्ट टाँगेर सुत्ने गर्छन्। उनीहरू हरकाम पैदल हिँडेरै गर्छन्। सवारी साधनको पहुँच कम भएकाले गाडी र मोटरबाइक प्रयोग गर्ने सम्भावना कम हुन्छ। 

जनावरहरुको ‘ट्र्याकिङ’का अतिरिक्त रेन्जरहरुले ‘क्यामेरा ट्र्याप’को पनि निगरानी गर्छन्। ‘क्यामेरा ट्र्यापले’ जीवजन्तुको रेखदेखमा मद्दत पुर्याउनुका साथै क्यामेरामा कैद हुने भएकाले सिकारीहरुलाई समेत तर्साउँछ। यसले जनावरको सिकार हुनबाट बचाउन सक्छ।

मार्टिन कामकै शिलशिलामा वर-परका बस्ती पनि धाउँछिन्। त्यहाँका मानिसहरु भेला गरेर वन्यजन्तु संरक्षणको महत्वका बारे कुरा गर्छिन्, चेतना जगाउँछिन्। कहिले शिकारी अनि तस्करहरु पनि समाउँछिन्। गृहयुद्धका बेला रेन्जरहरूलाई गस्ती गर्न दिइएको थिएन। त्यसबेला मार्टिन ताम्बुरास्थित मुख्यालयमा नै बस्थिन्। त्यस बेला पनि उनले १२ मानिसलाई सिकार गरेको आरोपमा पक्राउ गरेकी थिइन्। तीमध्ये धेरैलाई चेतावनी मात्रै दिएर छोडिएको थियो। 

'आज मैले नगरे कसले गर्छ त?'

हातमा बन्दुक बोकेकी बिबियाना मार्टिन।  तस्बिर : साम मेडनिक/अलजजिरा

बङ्गाङ्गाइबाट करिब १५० कि.मि. टाढा अवस्थित ताम्बुरामा जन्मेकी मार्टिनको सानी छँदा एउटा मात्र सपना थियो - विद्यालय जाने। एकपटक उत्साहित भएर उनले कलम र कापी किनेकी थिइन्। तर जब कक्षामा देखापरिन् उनलाई निकालियो र भनियो, तिम्रा अभिभावकले विद्यालयको ‘फी’ (शुल्क) तिरेका छैनन्। उनले कक्षामा प्रवेश पाइनन्। पढ्ने ईच्छा र त्यसको बाधक परिवारको आर्थिक स्थिति बनेको कुरा उनले सुनाइन्।

‘विद्यालय जान नपाएकोमा मलाई अझै नराम्रो लाग्छ,' मार्टिन भन्छिन्। 'म विद्यालय जान पाएकी भए अहिले हामी अंग्रेजीमा वार्तालाप गरिरहेका हुन्थ्यौँ,' स्थानीय ‘आजान्दे’ भाषामा ठट्टा गर्दै मार्टिन भन्छिन्। विद्यालय गएर शिक्षा हासिल गर्न नसके पनि मार्टिनलाई केही गर्नबाट रोक्न भने सकेन। मार्टिनका हजुरबुवासँगै हुर्किइन्। हजुरबुबा पनि रेन्जर थिए। त्यसैकारण १२ वर्षको उमेरमै रेन्जर बन्न मार्टिन सफल भइन्। उनले ताम्बुराकै कार्यालयबाट काम सुरु गरेकी हुन्।

सुरुसुरुमा मार्टिनले निःशुल्क काम गरिन्। उनी कार्यालय सफा गर्थिन्, चिया बनाउँथिन्, अनुशासन सिक्थिन्। ३ वर्ष बेतलबी सेवा गरेकी उनले बजारमा चिया, रक्सी आदि बेचेर आफ्नो पेट पालेको बताउँछिन्।

उमेरले १५ मा पाइला टेक्नासाथ मार्टिनले रेन्जरको तालिम लिइन्। उनको हातमा बन्दुक थमाइयो। त्यसबेला उत्तरी र दक्षिणी सुडान भनेर विभाजन भइसकेको थिएन। विवाद भने सुरु भएको थियो। मार्टिका अनुसार त्यसबेला कुनै कानुन लागू हुँदैन थियो। त्यसपछि मार्टिनले ताम्बुरा वरपरका बस्तीको रेखदेख गर्न थालिन्।

१५ वर्षकी छँदा पहिलो पटक तलब थापिन् मार्टिनले झन्डै ३ सय डलर। पैसाको अभावले विद्यालय जान नपाएको दुःखका कारण उनका लागि यो अविस्मरणीय क्षण बन्यो। 'मलाई मेरा बुवाआमाले विद्यालय पढाउन सक्नुभएन तर अन्ततः रेन्जर भएर काम गर्न भगवानले सम्भव बनाए,' मार्टिन भन्छिन्। 

त्यसपछि केही वर्षमा पदोन्नति भएपछि मार्टिनले पश्चिमी इक्वेटोरियाका पोष्टहरुमा काम गरिन्। आफ्नो दाहिने बाहुलामा राखिएको सेकेन्ड लेफ्टिनेनमा पदोन्नति भएको चिन्ह देखाउँदै गर्दा उनको अनुहार निकै चम्किलो देखिन्छ। उनको सेकेन्ड लेफ्टिनेनमा पदोन्नति सन् २०११ मा भएको थियो। दक्षिण सुडानले स्वतन्त्रता पाएको वर्ष।

सन् २०१३ - २०१८ को गृहयुद्ध आधिकारिक रुपमा समाप्त भएपछि मार्टिन नविनताको खोजिमा थिएन्। त्यसैले उनले यस वन्यजन्तु आरक्षमा सरुवा हुने अनुरोध राखिन्। तीनमध्ये एक छोरी भिक्टोरियासँग उनी अहिले यहीँ बस्छिन्। 

उमेरले १५ मा पाइला टेक्नासाथ मार्टिनले रेन्जरको तालिम लिइन्। उनको हातमा बन्दुक थमाइयो। त्यसबेला उत्तरी र दक्षिणी सुडान भनेर विभाजन भइसकेको थिएन। विवाद भने सुरु भएको थियो। मार्टिका अनुसार त्यसबेला कुनै कानुन लागू हुँदैन थियो। त्यसपछि मार्टिनले ताम्बुरा वरपरका बस्तीको रेखदेख गर्न थालिन्।

आमा छोरी एउटा झुप्रोमा बस्दै आएका छन्। झुप्रो अगाडि एउटा सानो सब्जीबारी छ। फुर्सदको अधिकांश समय मार्टिन त्यहीँ बिताउँछिन्।

मार्टिनले छोरी भिक्टोरियालाई आफूसँग गस्तीमा हिँड्न दिन्नन्। भिक्टोरियाको जिम्मेवारी भनेको चौकीमा पानी लगिदिने र बारीमा उम्रँदै गरेका बिरुवा-पातको रेखदेख गर्नु हो। लामो समयका लागि बाहिर निस्किनु परेको खण्डमा मार्टिनले आफ्ना भरपर्दा साथीहरुका साथ छोरीलाई चौकीमै छोडिदिन्छिन्।  

मार्टिनको विवाह १८ वर्षको उमेरमा भएको थियो। बिहे भएको करिब ११ वर्षपछि उनको सम्बन्ध विच्छेद भयो। छोरी भिक्टोरिका गाला सुम्सुम्याउँदै पुनर्विवाह गर्ने चाहना नभएको मार्टिन बताउँछिन्। आफूले शिक्षा हासिल गर्न नपाए पनि आफ्ना छोरीहरुलाई कुनै अवसरबाट वञ्चित हुन नदिन आफू दिनरात खट्ने कुरा उनी जोड्छिन्।

उनका अन्य दुई छोरी याम्बियो सहरमा आफन्तकहाँ बस्दै आएका छन्। उनीहरु त्यही सहरको विद्यालय जान्छन्। भिक्टोरियालाई चाँडै विद्यालय पठाउने योजना मार्टिनको छ।

'मेरो सपना भनेको छोरीहरुका लागि आफ्नै जमिनमा एउटा पक्की घर ठड्याउने, ईनार खन्ने अनि उनीहरुलाई पढाउने मात्र हो,' मार्टिन भन्छिन्।

एक रेन्जरको जीवन सजिलो छैन। उनीहरुका पहुँचमा न बिजुली हुन्छ, न चिल्ला मोटर, न स्वादिष्ट भोजन पाउने रेस्टुराँ। नजिकैको बस्ति र टेलिफोन भनेको चौकीबाट ९ किलोमिटर टाढा छ। मुख्यालय अथवा इष्टमित्रलाई सम्पर्क गर्नकै लागि मार्टिन हप्तामा कम्तीमा ३-४ पटक दिनको ४ घण्टा हिँड्छिन्। 

बिबियाना मार्टिन र उनका सहकर्मीहरु। तस्बिर : साम मेडनिक/अलजजिरा

'द्वन्द्वकालमा त फोन पनि थिएन। चिट्ठी लेख्नुपर्थ्यो। झन् हप्तौँ लाग्थ्यो,' अनुभवी रेन्जर मार्टिनलाई यी कठिनाईहरुको बानी परिसकेको हुनाले खासै पिरोलेको देखिँदैन।

साथी रेन्जरहरुले पनि मार्टिनलाई उति नै माया र सम्मान गर्छन्। चौकीमा महिला रेन्जर थोरै भएपनि पुरुषहरुलाई आफ्नो स्थानमा ठीकसँग राखेकी छिन् मार्टिनले। रक्सी खाएर मातेको अवस्थामा केही तलमाथि बोले भने भोलिपल्ट उनीहरूकै भिडियो देखाएर माफी माग्न लगाउँछिन्।

गस्तीमा नहिँडेका बेला मार्टिन आम जनसमुदायलाई जागरुक बनाउन तल्लीन देखिन्छिन्। अवैध शिकार, पशु-हत्या, पशु-हिंसा आदि गर्न नहुने, रुख-विरुवा मास्नुको साटो रोप्नु पर्ने आदि सिकाउँदै मार्टिनले समाजमा परिवर्तन ल्याउन कोसिस गरिरहेकी छिन्। यसले भोलिका सन्ततिलाई सहयोग पुर्याउने उनको ठम्याइ छ। 'आज मैले नगरे कसले गर्छ त?' उनी सोध्छिन्।

पार्कको संरक्षण अनि महिलाई प्रेरणा

दक्षिण सुडानलाई जलवायु परिवर्तले नराम्रोसँग जेलेको छ। तीन वर्षको विनाशकारी बाढीले ८ लाख ५० हजार जनता प्रभावित बनाएको छ। सयौँले ज्यान गुमाए। लाखौँ पशु मारिए। सरकारले यसका लागि छुट्याएको बजेट ‘हात्तिका मुखमा जिरा’ बराबर छ।

रेन्जरलाई फोन ‘नेटवर्क’को व्यवस्ठा छैन। वाकी-टकी छैन। करिब १ सय रेन्जरहरुलाई एउटा कार दिइएको छ। अनि त्यति नै स्रोत-साधनका साथ पश्चिमी एक्वेटोरियाका वन-जंगल र जीवजन्तुको सुरक्षा गर्दै आएका छन् रेन्जरहरु।

सायद द्वन्द्वले खिएको देशलाई वनको सुरक्षा गर्नु खासै आवश्यक नलागेर होला राष्ट्रिय बजेटको करिब १ प्रतिशत मात्र वन्यजन्तु आरक्षणका लागि छुट्याइएको।

दक्षिण सुडान महादेशकै विशाल वन्यजन्तु आरक्षण क्षेत्र बन्न सक्ने कुरा दक्षिण सुडानका लागि एफएफआइका प्रतिनिधी बेनोइट मोर्केलले बताए। 

गृहयुद्धका दौरान जंगलमा बसिरहनु रेन्जरहरुका लागि सम्भव थिएन। युद्ध समाप्ती पश्चात वन फर्केका मार्टिनजस्ता रेन्जरको उद्देश्य वनलाई जनावर सुरक्षित साथ बाँच्न सक्ने थलो बनाउनु हो। सँगसँगै जनतालाई जागरुक गराउनु पनि।

दक्षिण सुडानलाई जलवायु परिवर्तले नराम्रोसँग जेलेको छ। तीन वर्षको विनाशकारी बाढीले ८ लाख ५० हजार जनता प्रभावित बनाएको छ। सयौँले ज्यान गुमाए। लाखौँ पशु मारिए। सरकारले यसका लागि छुट्याएको बजेट ‘हात्तिका मुखमा जिरा’ बराबर छ।

वनमा जनवारको संख्या बढेको देखेर मार्टिन तथा अन्य रेन्जर गरौवान्वित छन्। जनावर फर्किरहेका छन्, सिकारी तथा तस्करको संख्या लगभग शून्यमा झरेको छ।

यसरी केही सुधार देखिए पनि चुनौती सकिइसकेका छन्। देशमा शान्तिको सुनिश्चितता छैन। संरक्षित क्षेत्रमा सुधार आए पनि रेन्जर नखटाइएका क्षेत्रमा अपराध बढ्दा देखिन्छन्। 

दक्षिण सुडानको सरकारले अल जजिरालाई आफूले सक्दो गरिरहेको बताए तापनि रेन्जरहरु साधनको कमीले ठूलो क्षेत्रफलमा निगरानी राख्न असक्षम भएको बताउँछन्।

राजनीतिक उतारचढावका बाबजुध आफूले आफ्नो जिम्मेवारी निष्ठाका साथ निभाउने मार्टिन बताउँछिन्। उनको कामले दक्षिण सुडानका महिलाले प्रेरणा पाउन् अनि स्वावलम्वी र आत्मनिर्भर बन्न सकून् भन्ने उनको अपेक्षा छ। 

पुरुष सहकर्मीको बहुमत भएको चौकीका बीचमा गर्वका साथ मार्टिन बोलिरहिन्। 'दक्षिण सुडानका महिलाका लागि मेरो सन्देश भनेको कहिल्यै अल्छी नहुनु हो। जस्तै भए पनि काम गर्न पछि नहट्नु हो। त्यसले तपाईंका बच्चालाई विद्यालय पुर्‍याउँछ। विशेषगरी छोरीलाई। उनीहरुलाई घरमै थुनेर समय बर्बाद गर्न नदिनुहोस्।'

(अलजजिराका लागि साम मेडनिकले तयार पारेको सामग्री विनायक कार्कीले भावानुवाद गरेका हुन्।)

प्रकाशित: Mar 21, 2022| 14:29 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।