विराटनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको भन्दै समयमा नै हुने प्रतिबद्धता जनाएका छन्।
सोमबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र आयोग निर्वाचन गराउन लागिपरेकाले सरकारले पूरा सहयोग गर्ने बताए।
नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैंचा नगरपालिकाले २७ करोड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेको हो। प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिएका छन्।
कार्यक्रममा उनले मोरङको लेटाङ नगरपालिकामा प्रहरी जवानको हत्या भएको घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए।
प्रधानमन्त्री देउवाले सुन्दरहरैंचामा ३५ शय्याको नगर अस्पताल पनि उद्घाटन गरेका छन्। सुन्दरहरैंचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा निर्माण गरेको नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन्।