काठमाडौं- नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नहुने बताएका छन्।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतकसमेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भए पनि राष्ट्रियस्तरमा एमालेले तालमेल नगर्ने बताएका हुन्।
‘निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन। एमाले एक्लै चुनाव लड्छ। स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भएबाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन’, भट्टराईले भने। उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए।
९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत हुन्छ।
एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था छ। यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेको तयारी हुन्छ’, उनले भने।