एजेन्सी- पछिल्लो पटक रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीलाई क्रिस्टियानो रोनाल्डोको सम्भावित विकल्पको रुपमा हेरेको छ । यस भन्दा अगाडी पनि विभिन्न क्लबका खेलाडीहरुलाई रोनाल्डोको विकल्पको रुपमा हेरिदै आएको थियो ।
तर पनि अहिले सम्म उनको विकल्पको रुपमा रियलले खेलाडी भित्र्याउन सकेको छैन । अझैपनि रियलले केहि खेलाडीलाई रोनाल्डो विकल्पको रुपमा भने हरिरहेको छ । रोनाल्डो १ सय मिलियन पाउन्डमा रियलबाट युभेन्ट्स पुगेका थिए ।
पिएसजीकै नेयमार र केलियन एमबाप्पे भन्दा सस्तोमा भित्राउन सकिने सम्भावना भएकोले पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काभानीमा चासो देखाएका छन् । रोनाल्डो सम्मिलित पोर्चुगलविरुद्ध रसिया विश्व कपमा काभानीले उरुग्वेका लागि २ गोल गरेका थिए ।
उनकै गोलले उरुग्वे अन्तिम आठ सम्म पुगेको थियो । तर, चोटका कारण उनले फ्रान्सविरुद्धको क्वार्टरफाइनल भने खेल्न सकेनन् । सन् २०१३ मा नेपोलीबाट पिएजसी पुगेयता काभानी टोलीका मुख्य खेलाडी रहँदै आएका छन् ।
त्यसयता उनले हरेक सिजन औसतमा ३४ गोल गरेका छन् । गत सिजन पिएसजीका लागि उनले सबै खाले प्रतियोगितामा गरि ४० गोल गरेका थिए । पिएसजीसँग उनको सम्झौता सन् २०२० सम्मको छ ।
पिएसजीले भने उनलाई ८९ मिलियन पाउन्ड भन्दा कममा नबेच्ने मनसाय बनाएको बताइएको छ । त्यसका लागि रियल तयार हुने नहुने अझै प्रष्ट भने पारेको छैन । यसैबीच, अन्य खेलाडी भन्दा अघि गोलकिपर थिबाउट कोर्टियस रियल पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४