काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शर्मालाई आइतबार राजदूत नियुक्त गरेकी हुन्।
मन्त्रिपरिषद्को गत मंसिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो।
नेपालले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि भारतले शंकर शर्माको नाममा सहमति (एग्रिमो) पठाएको थियो। चैत १ को मितिमा भारतले चैत २ गते शर्माको नाममा 'एग्रिमो' पठाएको परराष्ट्र मन्त्रालयले जनाएको थियो।
शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ (डिसेम्बर १०) मा परराष्ट्र मन्त्रालयले भारतलाई ‘एग्रिमो’ का लागि पत्राचार गरेको थियो।
शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा यसअघि नियुक्त भइसकेका छन्। भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन्। उनी अर्थशास्त्रीका रूपमा चिनिन्छन्।
अघिल्ला राजदूत नीलाम्बर आचार्यको नाम संसदीय समितिले २०७५ मंसिर २३ मा अनुमोदन गरेको थियो। त्यसको दुई महिनाभित्रै माघ २० मा उनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसअघि दीपकुमार उपाध्यायको 'एग्रिमो' एक महिनाभित्रै आएको थियो। तर शर्माको 'एग्रिमो' भने तीन महिना ढिलो आएको थियो।