काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीले यही चैतभित्रै उम्मेदवारको टुंगो लगाउने बताएका छन्। नेपाल प्रेस युनियन सल्यानले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
पार्टी विधानले नै विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रमा संसदीय समितिको व्यवस्था गरेको उनले जानकारी दिए। ‘यसपटक विगतमा जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन। निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ। चैत महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोसिस गर्छौं,’ उनले भने।
प्रवक्ता महतले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भएमात्रै केन्द्रले हेर्न सक्ने पनि बताए। ‘जुन तहको उम्मेदवारी हो, त्यहीँ टुंगियोयोस्। सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ,’ उनले भने। प्रवक्ता महतले पार्टीले सुरु गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा बढीभन्दा बढी जनतालाई पार्टीसँग जोड्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे।
अभियानका क्रममा पार्टीका प्रतिनिधिहरु र तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिकलाई जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने महतले बताए।