काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्।
ओलीकै घमण्डका कारण बामपन्थीहरूको दुई तिहाइ नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमन्डलाई नेपाली जनताले जवाफ दिने पनि बताएका हुन्।
गौरीशङ्कर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबीसमेत गरे।
मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमन्ड रहेको बताएका छन्। 'ओलीमा महाभारतको दुर्योधनभन्दा बढी घमन्ड छ। तर, जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने छन्।'