काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले कुसलतापूर्वक पुरा गरेको दाबी गरेका छन्।
शनिबार काठमाडौं महानगरपालिका-१४ को वडा कार्यालय भवन उद्घाटन गर्दै मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाएको बताए।
उनले महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि आफूलाई सुम्पेका धेरैजसो जिम्मेवारी पूरा गरेको दाबी गरे। उनले सबै वडा कार्यालयहरूलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको बताए।
मेयर शाक्यले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए। उनले मुद्दा मामिलाका कारण पनि महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए।
‘सबै पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु। मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु। सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइ दिएका छौं,’ उनले भने।