सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले भने- ‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौं

प्रचण्डले भने- ‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन्।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताएका छन्। 

उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक-वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएकाले सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गर्न आग्रह गरेका हुन्।

राष्ट्रिय स्वाधीनताको रक्षा, मुलुक र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उनले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताए। 

विपक्षीले यसअघिका निर्वाचनका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उनले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताए। 

जनताको संघर्षको बलमा प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको, प्रतिक्रान्तिको खतरा तीव्र गतिमा अगाडि आएको उल्लेख गर्दै उनले गत वर्ष जनताको बलमा नै प्रतिगामी कदमलाई परास्त गरिएको बताए। 'हामीले गत वर्षको असंवैधानिकरूपमा गरिएको संसद् विघटनलाई जनताको ‘हुंकार’बाट पराजित गर्‍यौँ,' अध्यक्ष प्रचण्डले भने, 'आगामी निर्वाचनमा पनि सम्पूर्ण तागत लगाएर प्रतिगामी तत्वलाई परास्त गर्नुपर्छ।'

आगामी निर्वाचनमा माओवादीलाई कमजोर बनाउने र साम्राज्यवादी मुलुकमा जस्तै ‘टु पार्टी सिष्टम’ लागू गर्ने षडयन्त्र भइरहेको जिकिर गर्दै उनले भने, 'अहिले दुई वटा बुर्जुवा पार्टी मात्र बनाउने कसरत भइरहेको छ, क्रान्तिकारी विचारसहितको पार्टीलाई कमजोर पार्ने र दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारी छ, आउँदै गरेका सबै निर्वाचन हाम्रा लागि सामान्य निर्वाचन मात्रै होइन, यो हाम्रा लागि ‘लाइफ एण्ड डेथ’को लडाईं भएर आएको छ।'

गत पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा गत फागुनमा सम्पन्‍न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्धरूपमा निर्वाचनमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै उनले पार्टीभित्रको अन्तरविरोधलाई थाँती राखेर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित: Mar 16, 2022| 20:41 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...