काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको सहमतिपत्र (एग्रिमो) आएको छ। नेपालले राजदूतका लागि सिफारिस गरेको तीन महिनापछि भारतले एग्रिमो पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
सरकारले गएको कात्तिक ११ गते सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा भएको थियो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ गते परराष्ट्र मन्त्रालयले भारतलाई एग्रिमोका लागि पत्राचार गरेको थियो।
शर्मासँगै सिफारिस भएका बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य र अमेरिकाका श्रीधर खत्री भने नियुक्त भइसकेका छन्। अब भने शर्माको नियुक्तिका लागि पनि बाटो खुलेको छ।
सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति अर्थात् एग्रिमोपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ। भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन्।