काठमाडौं- सत्तारुण दल नेपाली कांग्रेसले एमसीसीबारेका भ्रम चिर्न 'एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ' दस्तावेज प्रकाशन गरेको छ। आसन्न स्थानीय चुनावालाई लक्षित गरेर एक महिने चुनावी अभियान थालेको कांग्रेसले एमसीसीबारेका भ्रम चिर्न यस्तो दस्तावेज ल्याएको हो।
नेपाली कम्युनिस्ट दलहरूले एमसीसीबारे भ्रम फैलाएकाले त्यसलाई चिर्नुपर्ने कांग्रेसको ठहर छ। दस्तावेज ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्याउने र त्यसबारे फैलाइएका भ्रम चिरिने कांग्रेसको भनाइ छ।
‘एमसीसी अनुदान सहायता सम्झौता प्रक्रिया यो विन्दुसम्म आइपुग्दाको यात्रा त्यत्ति सहज हुन सकेन। एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टीहरु र पात्रहरुको दोहोरो प्रवृत्तिका कारण यो विषय गिजोलिन पुग्यो, जसले गर्दा वास्तविकता र आवश्यकताभन्दा धेरै जटिल बन्न गयो,’ कांग्रेसले भनेको छ, ‘ज–जसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे र दोहोरो चरित्र देखाए, यसको मूल्यांकन आम जनताले गर्नुपर्नेछ।’
प्रतिनिधिसभाबाट एमसीसीबारेका भ्रम चिर्नुलाई कांग्रेसले कर्तव्य ठानेको जनाएको छ।कांग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ।