वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग युक्रेनमाथि जारी रुसी आक्रमणबारे छलफल गरेका छन्। दुई नेताबीच भएको टेलिफोन वार्ताका क्रममा युक्रेनमाथि आक्रमण गरेको रुसलाई जवाफदेही बनाउने विषयमा छलफल भएको जनाइएको छ।
दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएको ह्वाइट हाउसले जनाएको छ।
‘राष्ट्रपति बाइडेनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धबारे फेरि छलफल गर्नुभएको छ।’ ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ। रुसले पोल्याण्डको सीमानजिक युक्रेनी सैनिक तालिम केन्द्रमा आक्रमण गरेको केही घण्टापछि दुई नेताबीच टेलिफोन वार्ता भएको हो। गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध आक्रमण सुरु गरेको थियो। एएनआई