काठमाडौं– सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै आइतबार अन्तिम सुनुवाइका लागि आदेश दिएको हो। अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको छ। आदेशअनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुनेछ।
अदालतले नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेरिरहेको छ।
एमाले अध्यक्ष केपी ओलीले अदालतमा रिट दायर गरेका हुन्। नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमालेले ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ।