काठमाडौं- जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ। काठमाडौंमा आइतबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितालगायतका एजेन्डामा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।
बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने उनको भनाइ छ। प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए।
‘आजको बैठकमा केही विशेष एजेन्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ। यो बैठक भोलिसम्म चल्नेछ। पहिलो एजेन्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रस्तुत भइरहेको छ, यसलाई हामी छलफल गरेर पारित गर्नेछौँ,' खतिवडाले भने, 'दोस्रो एजेन्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित केही संगठनात्मक प्रस्ताव हुनेछन्। तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रस्ताव पारित गर्नेछौँ।’
प्रचार विभाग प्रमुख खतिवडाले दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने बताए।