काठमाडौं- नेकपा एमालेका सांसद भीम रावलले दार्चुला सदरमुकामलाई खतरामा पार्ने गरी महाकालीमा तटबन्ध बनाउँदा पनि सरकार मौन रहनु आश्चर्यजनक भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै नेता रावलले यस्तो बताएका हुन्।
'दार्चुलाको बंगागगरमा भारतले तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणको काम रोक्न माग गर्दा हाम्रा नागरिकमाथि दमन भएको छ। गत वर्षायाममा बाढी आउँदा हाम्रो वन कार्यालय भारततर्फ परेको थियो,' नेता रावलले भने, 'त्यही स्थानमा अहिले भारतले एकतर्फी रूपमा सीमानामा तटबन्ध बनाइरहेको छ। सीमानामा भारतले एकतर्फी रूपमा तटबन्धन बनाउन पाउँदैन।'
बंगामा भारतले डोजर चलाउँदा पनि नबोल्नु सरकारका लागि लाजमर्दो विषय भएको उनले बताए। 'भारतले एकतर्फी रुपमा डोजर चलाएर दार्चुलाको सदरमुकामलाई खतरामा पार्ने खेल भइरहेको छ। गृहमन्त्रीले यसमा जवाफ दिनुपर्छ। हाम्रो भूमिमा अतिक्रमण भएको छ,' उनले भनेका थिए।
लिम्पियाधुरालगायतका अतिक्रमित क्षेत्रसहिको नक्सा जारी गरेपनि त्यहाँको भूमि फिर्ता ल्याउन सरकारले कुनै पहल नगरेको समेत उनले आरोप लगाएका थिए। 'नक्सा जारी भएपछि कहाँ वार्ता भयो? यसको जवाफ दिनुपर्छ। यसरी देशको स्वाधीनतामाथि आँच आउने कुरामा नबोल्नु आश्चर्यको कुरा हो।'
उनको दल एमालेले भने प्रतिनिधिसभामा विरोध कामयै राखेको छ।