काठमाडौं- वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका छन्।
‘जसपाबाट मैले छोड्ने कारणहरु छन्। त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन,’ मेयर सरावगीले भने, 'अहिले पनि जातिवादकै राजनीति भइरहेको छ। जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन राष्ट्रिय पार्टी भनेको एमाले नै हुन सक्छ।’
आफू एमाले प्रवेश गर्नुको कारणसमेत उनले खुलाएका छन्। 'म यस पार्टीमा झन्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेको थिएँ। तर पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो,’ उनले भने, ‘त्यसपछि एमालेमा आएँ।’
कार्यक्रममा मेयर सरावगीले एमाले अध्यक्ष ओलीको प्रशंशासमेत गरेका थिए। ‘उहाँको नेतृत्वमा देशले नयाँ काँचुली फेर्नेछ,’ उनको प्रशंशा थियो। यस्तै ओलीले बोल्ड निर्णय गर्नसक्ने पनि उनको टिप्पणी थियो।