डडेल्धुरा- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा रहेको पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न छलफल सुरु गरेका छन्। पार्टीको जिल्ला अधिवेशनका समयमा डडेल्धुरामा कांग्रेसबीचको द्वन्द्व बढेको थियो।
सभापति देउवाले गृहजिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन एकलौटीरुपमा सम्पन्न गराएको कर्ण मल्ल समूहले आरोप लगाएको थियो। डडेल्धुराका तत्कालिन जिल्ला सभापति कर्णबहादुर मल्ललाई राजनीतिबाटै ‘बाईपास’ गराउन खोजेको आरोप लगाइएको थियो।
मल्ल समूहले निर्वाचन एकलौटी गराएको र महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै पार्टीमा उजुरी दिनुका साथै अनसनसमेत बसेको थियो। तर, निर्वाचन समितिले भने निर्वाचनमा कुनै धाँधली नभएको निर्ष्कर्ष सुनाएको थियो। तर, प्रधानमन्त्री देउवाले आफ्नो गृहजिल्लामा आएको पार्टीको विवाद समाधान गर्नका लागि पहल थालेका हुन्।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लास्तरमा क्रियाशील कांग्रेस नेताहरुसँग छलफल सुरु गरेका हुन्।
जिल्ला सभापति भिमबहादुर साउँदसँगै मल्ल समूहका नेता हरिप्रसाद भट्टलाई सँगै राखेर शुक्रबार प्रधानमन्त्री देउवाले बुढानिलकण्ठस्थित निवासमा छलफल गरेका हुन्। यसअघि पनि प्रधानमन्त्री देउवाले जिल्लास्तरीय नेताहरुलाई बोलाउँदै छलफल गर्दै आएका थिए।
सातौं जिल्ला अधिवेशनमा सभापतिका आकांक्षीसमेत रहेका नेता भट्टले भने,‘क्रियाशील सदस्यतामा भएको फेरबदल र जिल्ला नेतृत्वलाई बाइपास गरेर जिल्ला अधिवेशन सम्पन्न गरेको विषयमा निकास दिनेगरि सभापति देउवाबाट कुनै प्रस्ताव नआएकाले वार्ताको खासै औचित्य देखिएन्।’
उनले सभापति देउवालाई सबै जिल्लास्तरीय नेताहरुले गरेको कामको उचित मूल्यांकन गरेर पार्टी संगठनलाई वैधानिक बाटोबाट एकतावद्ध बनाउन आफूले आग्रह गरेको बताए।