काठमाडौं- नेकपा माओवादी केन्द्र एमसीसीकै कारण दुर्घटनामा पर्नसक्ने चेतावनी दिइएको छ। माओवादी केन्द्रको शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेताहरुले अहिले संयमता नअपनाएको अवस्थामा पार्टी ठूलो दुर्घटनामा पर्नसक्ने चेतावनी दिएका हुन्।
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन हुनु अघिदेखि नै विपक्षमा मत हाल्नुपर्ने तर्क राख्दै आएका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृहमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा लिखित रुपमै असहमति पत्र पेश गरेका छन्। असहमति पत्र पेश गर्दै नेता श्रेष्ठले अब पनि संयमता नअपनाएर अघि बढेमा पार्टी ठूलो दुर्घटनामा पर्नसक्ने चेतावनी दिएका हुन्।
उनले थपे, 'पार्टी वैचारिक र सांस्कृतिक रुपमा धेरै नै स्खलित हुँदै गएकोसमेत दाबी गरेका छन्। उत्पीडित र सर्वहाराको सम्बन्धबाटै पार्टी निर्माण भएको भए पनि अहिले भने पार्टीको सम्बन्ध केवल पुँजीवादी र दलालहरुसँग मात्र भएको छ। अहिलेको अवस्थामा संयमता नअपनाएमा पार्टी ठूलो दुर्घटनामा पर्नसक्छ।'
त्यस्तै बैठकमा नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले पनि एमसीसीको विषयमा फरक मत राखेका छन्। उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित रुपमै फरक मत बुझाएका हुन्। बैठकमा पेश भएका लिखित असहमति र फरक मतबारे आगामी आइतबारको बैठकमा छलफल हुने बताइएको छ।
बैठकमा आज के-के भयो ?
बैठक बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि दिउँसो साढे एक बजेदेखि सुरु भएको थियो। माओवादी नेताहरु बैठकको लागि बिहानै ११ बजे सभागृह पुगिसकेका भए पनि शीर्ष नेताहरु समयमै आउन नसकेपछि दिउँसो साढे एक बजे बैठक सुरु भएको हो। शीर्ष नेताहरु नआउन्जेल माओवादीका अन्य नेताहरु भने सभागृह बाहिर घाम ताप्दै अनौपचारिक गफमा व्यस्त थिए।
पार्टीभित्र असन्तुष्ट भएका कमरेड नारायणकाजी श्रेष्ठ मात्र होइन, अरु थुप्रै कमरेडहरु हुनुहुन्छ। हामी समीक्षा गर्दैछौँ। बाँकी रहेको पदाधिकारी छनोटमा असन्तुष्ट कमरेडहरुलाई समायोजन गरेर यसलाई निकासा दिन सकिन्छ।
जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, देव गुरुङ र कृष्णबहादुर महरालगायतका नेताहरु पनि सभागृहको बैठक हलमा पुगेका थिए।
कार्यक्रम सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए। प्रस्ताव पेश गर्दै उनले नेता तथा कार्यकर्ताहरुलाई एमसीसीबारेको अन्योलतालाई स्पष्ट रुपमा बुझाउने प्रयास गरेका थिए।
एमसीसीको व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएपछि पार्टीभित्र देखिएका विभिन्न विवाद र मनमुटावलाई व्यवस्था गर्न केन्द्रीय समितिको बैठक बोलाइएको नेता देव गुरुङले जानकारी दिए।
उनले भने, ‘एमसीसीले पार्टीभित्रको वातावरण बिगारेको थियो। त्यसकै समीक्षाको लागि बैठक बोलाइएको हो। बैठकमा यसबाहेक अन्य एजेण्डाहरुमाथि पनि छलफल हुनेछ।’
बैठकले एमसीसीको विषयलाई लिएर असन्तुष्ट भएका नेताहरुलाई उचित व्यवस्थापन गर्ने र एकरुपताको लागि प्रयास गर्ने उनको तर्क छ। त्यस्तै बैठकमा आगामी चुनावमा माओवादीलाई कसरी अघि लैजाने भन्नेबारे पनि छलफल भइरहेको नेता मातृका यादवले जानकारी दिए। नेपाल समयसँग कुराकानी गर्दै उनले भने, ‘चुनाव नजिक आइरहेको छ। अब कस्तो भूमिकाबाट पार्टी अघि लैजाने भन्नेबारे छलफल चलिरहेको छ।’
माओवादीले सकभर अहिलेको पाँच दलीय गठबन्धनलाई नै कायम राखेर चुनावमा तालमेल गर्ने उनको तर्क छ। उनले थप्दै भने, ‘हामी सकेसम्म गठबन्धन टुटाउन चाहन्नौँ। यही गठबन्धन नयाँ सरकारसम्म पुगोस् भन्ने उद्धेश्यले पार्टीभित्र अभ्यास भइरहेको छ। भोलिको कुरा हो, के हुन्छ हेरौँ।’
पार्टीभित्र असन्तुष्ट बनेका नेताहरुको व्यवस्थापनको लागि समीक्षा चलिरहेको पूर्वसभामुख तथा नेतृ ओनसरी घर्तीले जानकारी दिइन्।
बैठकले स्थायी कमिटी, पोलिटिब्युरो, अन्य जनवर्गीय संगठनको नेतृत्वहरुलाई पनि टुंगो लगाउने उनले जानकारी दिइन्। उनले भनिन्, ‘पार्टीभित्र असन्तुष्ट भएका कमरेड नारायणकाजी श्रेष्ठ मात्र होइन, अरु थुप्रै कमरेडहरु हुनुहुन्छ। हामी समीक्षा गर्दैछौँ। बाँकी रहेको पदाधिकारी छनोटमा असन्तुष्ट कमरेडहरुलाई समायोजन गरेर यसलाई निकासा दिन सकिन्छ।’
त्यसो त पार्टीको महासचिवको लागि वर्षमान पुन अनन्त र जनार्दन शर्माको नाम बाहिर आए पनि को हुने भनेर टुंगो लागिसकेको छैन। बैठकले महासचिव छनोटको अन्योलतालाई पनि पूर्णविराम दिने नेता झक्कुप्रसाद सुवेदीले जानकारी दिए। सुरुमा निर्चाचन गरेरै नेतृत्व छनोट गर्ने ‘फर्मेशन’ बने पनि अहिले पनि त्यो सम्भव नभएको उनको तर्क छ। सहमतिबाटै नेतृत्वको पक्का गर्ने प्रयास भइरहेको उनले स्पष्ट पारे।
नास्तामा मकै, स्याउ र दही
बैठकको मध्यान्तरमा खाजा नास्ताको व्यवस्था गरिएको थियो। सबै नेताहरु नास्ता गर्न मै व्यस्त थिए। कोही गफ गरेर नास्ता गर्दै थिए त, कोही एक्लै। कोही हँसिलो अनुहारमा नास्ता गर्दै थिए त, कोही उदास अनुहारसहित।
बैठक हलको एक छेउमा बसेर नास्ता गरिरहेका नेता मातृका यादव भने खुसीको मुद्रामै देखिन्थे। उनको हातमा नास्ताको एउटा प्याकेट थियो। प्याकेटमा रहेको मकै, स्याउ र दही टाढैबाट देखिरहेको थियो। त्यत्तिकैमा उनलाई नेपाल समयले सोधेको थियो - 'निकै हँसिलो अनुहारले नास्ता गर्दै हुनुहुन्छ, यो चै एमसीसी पास भएको खुसीमा हो कि पार्टीभित्र सुरु भएको विद्रोहको खुसीमा हो ?
उनले ठट्यौली पारामा स्याउ टोक्दै भने, ‘पार्टीभित्र खासै विद्रोह छैन। नास्ता खान पनि के-को खुसी चाहिन्छ र, हामी एकरुपता नै छ। बैठकमा छलफल सकिएपछि बल्ल विद्रोह हो कि होइन भनेर पक्का हुन्छ।’