काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन्।
नेपाली कांंग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।
‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन। स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ,’ उनले भने।
आगामी चुनावमा कांग्रेसले भ्रष्टाचारविरुद्धको एजेण्डा अघि सार्नुपर्ने पनि उनले बताए। भने, ‘स्थानीय तहले विकासलाई गाउँगाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ। तर सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ। स्थानीय तहको निर्वाचनमा काँग्रेस भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ।’