शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • पलविरुद्ध प्रहरीसँग तीन बलिया प्रमाण, दुर्गेश थापाले पनि दिए सुटुक्क बयान

पलविरुद्ध प्रहरीसँग तीन बलिया प्रमाण, दुर्गेश थापाले पनि दिए सुटुक्क बयान

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ।
 |  शुक्रबार, फागुन २०, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, फागुन २०, २०७८

दमौली– आइतबारदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका कलाकार पल शाहविरुद्ध प्रहरीले संकलन गरेका तीन प्रमाण पलविरुद्ध लागेको आरोप पुष्टि गर्न बलियो हुने देखिएको छ। 

triton college

जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद लिएर अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पल र पीडित किशोरीबीच भएको एउटा अडियो कुराकानीलाई बलियो प्रमाणका रुपमा अदालतमा पेश गर्ने तयारी गरेको छ। 

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ। उक्त अडियोमा पलले पीडित किशोरीतिर संकेत गर्दै स्पष्ट भनेका छन्, ‘यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा आउँथ्यो। गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच अन्डरस्ट्यान्डिङमा केही भयो होला। यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन। हामी जिन्दगीभरि सँगै हुन्छौं। म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि ।’

‘यो अडियो सुन्दा पलले किशोरीसँग शारीरिक सम्पर्क राखेको स्पष्ट पुष्टि हुन्छ। त्यसैले अदालतमा जाँदा हामीले यसलाई एउटा बलियो प्रमाण ठानेका छौं,’ तनहुँ प्रहरी स्रोतले भन्यो। 

त्यसो त जाहेरीअनुसार पीडितले जहाँजहाँ आफूमाथि जबरजस्ती करणी भएको आरोप लगाएकी छिन्, त्यहाँ घटनास्थलको मुचुल्का उठाउने, बयान लिने लगायतका काम पनि प्रहरीले गरिरहेको छ। सँगसँगै तनहुँ प्रहरीलाई पलले गरेको कसुर प्रमाणित हुने केही फेसबुक च्याटका स्क्रिनसट पनि प्राप्त भइसकेको छ, जसलाई उसले अदालतमा प्रमाणका रुपमा पेश गर्ने तयारी गरेको छ। 

Metro Mart
vianet

नाबालिग प्रमाणित 

पलविरुद्ध उजुरी गरेकी पीडित किशोरी नाबालिग नै हुन्? अर्थात् उनको उमेर १८ वर्ष मुनि नै हो भन्नेमा पल पक्षधर एउटा समूहले सोसल मिडियामा अनेक आशंका प्रकट गरिरहेको छ। तनहुँ प्रहरीले अनुसन्धानका क्रममा पीडित किशोरीको उमेर पहिल्याउँदा उनी नाबालिग भएको प्रष्ट देखिएको छ। 

प्रहरीकहाँ आइपुगेको पीडितको जन्मदर्ता अनुसार उनको जन्म मिति २०६२ साउन ३ गते रहेको छ । यसरी हेर्दा गत ०७८ साउनमा उनको उमेर १६ वर्ष पूरा पुगेर १७ मा टेकेको देखिन्छ। 

स्टेज कार्यक्रमका लागि विदेशसमेत पुगेकी पीडित गायिकाको पासपोर्टमा समेत कतिपयले प्रश्न उठाइरहेका छन्। तर, प्रहरीले प्राप्त गरेको पासपोर्टअनुसार पनि उनको उमेर नाबालिग नै देखिएको छ अर्थात्, सन् २००५ जुलाइ १८। 

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेकी बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्न मिल्दैन। यसरी यौन क्रियाकलाप गरेको देखिएमा जबरजस्ती करणी मानिने व्यवस्था छ। दफा २१९ (२) मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिन्छ।’

कानुनमा १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने पनि स्पष्ट उल्लेख छ। त्यसैले यो मुद्दा अदालतमा पुगेपछि पलले पीडित नाबालिग किशोरीसँग शारीरिक सम्पर्क राखेको हो–होइन, त्यसलाई नै हेर्ने हो।

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ।

तनहुँ प्रहरी स्रोतअनुसार पीडित किशोरीको मेडिकल रिपोर्ट पनि पलविरुद्ध बलियो प्रमाण हुने देखिएको छ। ‘जन्मदर्ताले पीडित किशोरी नाबालिग देखिएको छ । मेडिकल रिपोर्टले पनि यौन सम्पर्क भएको स्पष्ट देखिएको छ। अडियो कुराकानीमा पलले यौनजन्य कार्य गरेको स्पष्ट संकेत गरेको छ। त्यसैले यी तीनवटै पलविरुद्ध बलियो प्रमाण हुने देखिन्छ,’ प्रहरी स्रोतले भन्यो।

त्यसो त हिरासतमा रहेका पलसँग पनि प्रहरीले निरन्तर बयान लिइरहेको छ। तर, उनले भने आफूले पीडित किशोरीसँग शारीरिक सम्पर्क राखेको स्वीकार गरिरहेका छैनन्। म्युजिक भिडियो सुटिङ अर्थात् कामका क्रममा एउटै घर अर्थात् होटलमा बसेको स्वीकार गरे पनि शारीरिक सम्बन्ध राखेको भने उनले स्वीकार नगरेको प्रहरी स्रोतले जानकारी छ। 

दुर्गेश र सम्राटको पनि बयान 

बुधबार दिउँसो जतिबेला पललाई भेट्न अभिनेत्री पूजा शर्मा जिल्ला प्रहरी कार्यालय तनहुँ प्रवेश गरेकी थिइन्, त्यही बेला पीडितका आमाबुबा पनि त्यहीँ रहेको खबर त हामीले यसअघि नै प्रकाशित गरिसक्यौँ। त्यही समयमा काठमाडौंबाट बयानका लागि गायक दुर्गेश थापा र सम्राट चौलागाईं पनि प्रहरी कार्यालय दमौली आइपुगेका थिए।

बाहिर पल र पूजा समर्थक भीडले दुर्गेशविरुद्ध नाराबाजी गरिरहेको थियो। त्यही कारण प्रहरीले दुर्गेश र सम्राटलाई पूरै संरक्षण दिएर प्रहरी कार्यालयको पछाडिबाट कार्यालयभित्र लगेको थियो। पीडित परिवारले दिएको जाहेरीअनुसार कतिपय घटना र स्थानमा दुर्गेश र सम्राटको पनि उपस्थिति देखिएकाले प्रहरीले उनीहरुलाई बयानका लागि बोलाएको थियो। ‘दुर्गेश र सम्राटको बयान पनि पीडितकै पक्षमा छन्,’ प्रहरी स्रोतले भन्यो। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले पल प्रकरण अनुसन्धानको क्रममा रहेकाले तत्काल केही भन्न नमिल्ने बताए। ‘हामीलाई कुनै भीडले प्रभाव गर्दैन, हामी निष्पक्ष अनुसन्धान गर्नेछौं। यसमा ढुक्क हुनुस्,’ उनी सबैलाई आश्वस्त हुन आग्रह गर्छन्।

डेटलाइन दमौली-३

प्रकाशित: Mar 04, 2022| 13:20 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्