मंगलबार, भदौ २, २०८३

ओलीले भने- भीम रावलले अनुशासनहीन क्रियाकलाप गर्नुभयो

प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद भीमबहादुर रावलले अनुशासनहीन काम गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
 |  मंगलबार, फागुन १७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १७, २०७८

काठमाडौं- प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद भीमबहादुर रावलले अनुशासनहीन काम गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। 

एमसीसीमाथि धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ओलीले पार्टी सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताए। 'भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो। तर उनले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ। त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ,' एमसीसीको विरोध गर्ने सांसदलाई के गर्नुहुन्छ भन्‍ने प्रश्नको जवाफमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले भने।

रावलले पार्टीको निर्णय र धारणा विपरीत काम गरिरहेको ओलीको भनाइ थियो। रावल पार्टीको धारणा वा पार्टीको कामकारबाही भन्दा पृथक ढंगले गइरहेको उनले बताए। 'व्यक्तिगत तवरमा हिरो देखिन खोज्ने कामकारबाही, विचार राष्ट्रवाद वा लोकतन्त्रको वहनामा' त्यस्ता क्रियाकलाप सांसद रावलबाट भइरहेको उनको भनाइ थियो। त्यसरी जानु पार्टीको अनुशासनभित्र नपर्ने ओलीले बताए।

सांसद रावललाई संसदीय दलको बैठकमा पनि आफूले पार्टीको निर्णय मानेर अघि बढ्न भनेको ओलीले जानकारी दिए। 'मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ,' उनले भने, 'तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो।'

आइतबार एमसीसी प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुने क्रममा सांसद रावलले विरोध गरेका थिए। ओली नै संसद्मा उपस्थित रहेका बेला रावल रोष्ट्रममा गएर संसदीय प्रक्रियामा सहभागी भएका थिए। उनले विगतदेखि नै एमसीसी सम्झौताको विरोध गर्दै आएका छन्। उनी संसद्मा एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा मतविभाजनमा समेत सहभागी भएका थिए। उनीसँगै सांसद झपट रावल पनि निर्णय प्रक्रियामा सहभागी भएर एमसीसी सम्झौताको विपक्षमा मत जाहेर गरेका थिए। एमालेले भने एमसीसी सम्झौता पारित भएसकेकाले अब कार्यान्वयनमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ।

प्रकाशित: Mar 01, 2022| 22:00 मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...