काठमाडौं- नेपाल सरकारले कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको हो।
सरकारले गरेको निर्णयमा भनिएको छ, 'सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध छ।'
सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरुप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गरेको छ।
त्यसैगरी एमसीसीलाई फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सम्माननीय सभामुख र प्रतिनिधि सभाका सदस्यहरु सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
थपेको छ, 'साथै, यस क्रममा प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकार हार्दिक धन्यबाद व्यक्त गर्दछ।'