काठमाडौं– शिवरात्रिको दिन मंगलबार काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको छ।
पशुपति क्षेत्र विकास कोषले १० लाख दर्शनार्थीले मंगलबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोकलगाउनु परेको महाशाखाको भनाइ छ।
पुरानो बानेश्वरदेखि चाबहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ।
महाशाखाका अनुसार शिवरात्रिको दिनमा ट्राफिक व्यवस्थापनका लागि सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्र प्रभावित हुनेछ। सो क्षेत्रभित्र सवारी व्यवस्थापनको लागि सवारीसाधन प्रवेश निषेध गरिएको छ।
पुरानो बानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरेको छ। त्यस्तै धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको छ। चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ।
सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशालामा राख्ने व्यवस्था मिलाइएको छ।