काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसद्बाट अनुमोदन भएको एमसीसीलाई स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा एमसीसी नेपाली राजनीतिमा ठूलो पाठ भएको बताएका छन्।
उनले लेखेका छन्, 'एमसीसी सम्झौताको रूपमा आउँदै गर्दा विकास परियोजना थियो। तर, हाम्रै नेताहरूको स्वार्थपूर्ण व्याख्याले बढिनै राजनीतिकरण भयो। सम्झौताका प्रावधानभन्दा अवाञ्छित अतिरञ्जना गरेर यतिसम्म गिजलियो की यसमा भूराजनीति पनि जोड्न खोजियो।'
एमसीसीलाई ‘लेटर अफ एक्सचेन्ज’ सहित पारित गरौं भनेर आफूहरूले भनेको उनले बताएका छन्। उनले अब नागरिकलाई एमसीसीका विषयमा विभाजित गर्न नहुने बताएका छन्।
उनले राष्ट्रलाई केन्द्रमा राख्दै मित्र राष्ट्रहरूलाई सम-निकटतामा कायम गर्दै चीन, भारत, जापानको पनि सहयोग लिनुपर्ने बताएका छन्। उनले अब सबैले नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, सामाजिक न्यायको पक्षमा काम गर्नुपर्ने बताएका छन्।