काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ। आइतबार बेलुकी एक विज्ञप्ति जारी गर्दै दुतावासले एमसीसी अनुमोदन भएकोमा स्वागत रहेको हो।
काठमाडौंमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति भनेको छ, 'एमसीसी अनुमोदनसँगै नेपाली नागरिकका लागि थप रोजगारीको सिर्जना हुनेछ। विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने छ। झण्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गर्दै आएको छ।'
विज्ञप्तिमा नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धको ७५औं वर्ष रहेको समेत उल्लेख गरिएको छ। ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको बताइएको छ। ‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको समेत विज्ञप्तिमा उल्लेख छ।