काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आइतबार बसेको ८ दलको बैठकले संसद्बाट एमसीसी सम्झौता पारित गरेको विरोधमा फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका थिए।
विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले एमसीसीको विरोधमा नेपाल बन्दको आह्वान गरेका हुन्।
देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खतापूर्ण काम गरेको ती दलहरूको आरोप छ।