काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले जनताका माग सम्बोधन गर्न व्याख्यात्मक टिप्पणी ल्याएको बताएका छन्। एमसीसीसम्बन्धी सम्झौता पारित गर्नुअघि छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्।
'आम जनतामा यो कुरा स्पष्ट पारेपछि जनताले पक्कै पनि समर्थन गर्ने विश्वास लिएको छु। यहाँ तमाम प्रश्न उठे, सरकारले जनभावनालाई, अखण्डतालाई स्पष्ट गर्नु महत्त्वपूर्ण कुरा हो,' उनले भने।
'एमसीसीका विषयमा धेरै प्रश्न उठेको उल्लेख गर्दै उनले नेपालको संविधानको सर्वोच्चतालाई सरकारले स्पष्ट पारेको दाबी गरे। 'नेपाल कुनै सैन्य गठबन्धनमा रहन सक्दैन भनेको स्पष्ट पारेको छ। म यो कुरा ठोकुवा गर्दै घोषणा गर्न सक्छु। सरकाले अन्तरराष्ट्रिय कानुनसमेतको आधारमा यो घोषणा कानुनी मान्यताको आधारमा अघि बढ्छ भनेर अगाडि बढाएको छ,' उनले भने, 'अब एमसीसी आर्थिक परियोजना मात्रै हो अरु भ्रम अन्त्य भएको छ। हामी सबै राष्ट्रसँग सद्भाव राख्छौं, सबैसँग मिलेर जान्छौं। नेपाली जनताको अधिकार तलमाथि पर्न दिँदैनौं।'
सांसद र जनताले सडकबाट उठाएका सबै विषयको उत्तर व्याख्यात्मक घोषणामा आइसकेको उनको भनाइ थियो।