काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। नेपाल सरकार र एमसीसी सम्झौता आइतबार अनुमोदन भएको छ। संविधानको धारा २७९ र प्रतिनिधि सभाको नियम २० बमोजिम एमसीसी सम्झौता पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।
उनका अनुसार बहुमत सांसद्को समर्थमा प्रतिनिधि सभाबाट एमसीसी सम्झौतासँगै एमसीसीका विषयमा सरकारले गरेको ब्याख्यात्मक टिप्पणी पारित गरिएको हो। सन् २०१७ सेप्टेम्बर १४ मा एमसीसी र नेपाल सरकारबीच एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो।
उक्त सम्झौता भएको ५३ महिनापछि संसद्बाट अनुमोदन गरिएको हो।
एमसीसी टाइमलाइन : कहिले के भयो?
विसं २०६० - संयुक्त राज्य अमेरिकाद्वारा एमसीसीको स्थापना
२०६७- माधव नेपाल प्रधानमन्त्री र सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा एमसीसीमा आबद्ध हुनका लागि नेपालद्वारा रुची जाहेर
२०६८ - झलनाथ खनाल प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा एमसीसीका अधिकारीहरुसँग छलफल गर्न मिटिङ नोट तयार
माघ २०६८ - डा. बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा नेपाल थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको जानकारी प्राप्त
माघ २०६८ - डा. बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा नेपालले एमसीसीसँग समन्वय गर्नका लागि वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुखलाई सम्पर्क अधिकृत नियुक्त
पुस २०७१ - खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष र शंकरप्रसाद कोइराला अर्थमन्त्री हुँदा विकासका अवरोध पहिचान गर्न नेपाली अर्थशास्त्रीहरुको समूह गठन
माघ २०७१ - सुशील कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा एमसीसीद्वारा नेपाललाई कम्प्याक्टका लागि छनोट भएको जानकारी प्राप्त
चैत २०७१ - सुशील कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा पूर्वसचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि राष्ट्रिय संयोजक र तत्कालीन अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन
भदौ २०७२- सुशील कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा नेपालले सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता
साउन २०७३ - केपी शर्मा ओली प्रधानमन्त्री र विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा कम्याक्टको मस्यौदा तयार गर्ने र सम्भावित आयोजनाबारे अध्ययन गर्न प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता
जेठ २०७४ - पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्ती र कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा एमसीसीको लागि द्विपक्षीय वार्ता टोली गठन
साउन २०७४ - शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा एमसीसी सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश
भदौ २०७४- शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा एमसीसी सम्झौतामा हस्ताक्षर गर्न तत्कालीन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने मन्त्रिपरिषद्को निर्णय
भदौ २०७४ - शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा नेपालका तर्फबाट अर्थमन्त्री कार्की र एमसीसीका तर्फबाट सहअध्यक्ष जोनाथन ब्रुक्सद्वारा सम्झौतामा हस्ताक्षर
वैशाख २०७५ - केपी शर्मा ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा एमसीसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्ने गरी सञ्चालन र कार्यान्वयनका लागि एमसीए–नेपाल गठन
साउन २०७५ - केपी शर्मा ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा एमसीसीले संसदीय अनुमोदनको प्रावधानका लागि पठाएको पत्र प्राप्त
पुस २०७५ - अर्थमन्त्री खतिवडाद्वारा एमसीसी सम्झौता संसदीय अनुमोदन गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा कानुन तथा संसदीय मामिला मन्त्रालयसँग राय माग
माघ २०७५ - केपी शर्मा ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा एमसीसी संसदीय अनुमोदनका लागि संसदमा पेश गर्ने निर्णय
असार २०७६ - केपी शर्मा ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा एमसीसी सम्झौता संसदीय अनुमोदनका लागि संसद्मा दर्ता
असोज २०७६ - केपी शर्मा ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा परियोजना कार्यान्वयन सम्झौता (पीआइए)मा हस्ताक्षर। उक्त सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडा र एमसीसीका तत्कालीन उपाध्यक्ष एन्थोनी वेल्चेरले सम्झौतामा हस्ताक्षर गरेका थिए।
असोज २०७८ - प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा संसदीय अनुमोदनका लागि चार-पाँच महिनाको समय माग गर्दै एमसीसीको मुख्यालयलाई पत्र प्रेषित
फागुन २०७८ - एमसीसीको मुख्यालयद्वारा फागुन १६ सम्ममा एमसीसी अनुमोदन गर्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्र
८ फागुन २०७८ - एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालबीच सहमति
८ फागुन २०७८ - अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल
१५ फागुन २०७८ - एमसीसी सम्झौताका विषयमा ब्याख्यात्मक टिप्पणीलाई संसद्मा प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय
१५ फागुन २०७८ - प्रतिनिधि सभामा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल
१५ फागुन २०७८ - प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन