काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा फैलाइएको भ्रम निवारण भएको बताएका छन्। प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले एमसीसी अनुमोदन गरेलगत्तै लागु हुनेसमेत बताएका छन्।
एमसीसीबारेको व्याख्यात्मक घोषणाले तीन नयाँ कुरा गरेको उल्लेख गर्दै यो तत्काल लागु हुने बताएका हुन्। उनले भनेका छन्, 'एमसीसीका बारेमा भ्रम छरेर ती उल्लेखित कुरालाई पनि गलत प्रचार गरिएको थियो। भ्रम निवारण भएको छ।'
एमसीसीमा सबैले स्वामित्व ग्रहण गरेको उनले बताए। थपे, 'गठबन्धन हो सबैको इज्जत जोगाउनुपर्छ। सबैको स्वामित्व ग्रहण भएको छ। गठबन्धनको झमेला समाप्त भयो। नेपाली समाज परिवर्तन हुँदैन। अब अन्य मुलुकसँग हामी अनुदान लिन सक्छौं। सबै विचारधाराका दल मिलेर यो पारित गर्दैछौं। अनुमोदन गर्ने क्रममा आम सहमति भएको छ।'
प्रमुख प्रतिपक्षी दलको पनि एमसीसीमा समर्थन रहेको उनले बताए। भने, 'प्रतिपक्षी दलका नेताहरु त्यहाँ उभिनुभएको छ। तर, एमसीसीविरुद्धमा नारा लगाउनुभएको छैन।'
उनले आफूहरु बंगालादेशको मोडलमा जाने बताए। थपे, 'नेपाललाई चाहिने कुरा लिन्छौं, नचाहिने कुरा लिँदैनौं। कार्यान्वयन चुनौतिपूर्ण छ। हाम्रो काम गर्ने शैली यही हो। यसलाई जसरी पनि समयमै सम्पन्न हुनुपर्छ। अब प्रधानमन्त्रीले प्रतिपक्षीको नारा मथ्थर गर्न ध्यान दिनुहुनेछ। जसले हामी नारा नलगाइसँगै छलफलमा बस्न सक्नेछौं।'