काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले सरकारले प्रतिनिधि सभामा पेस गरेको एमसीसी सम्झौतासम्बन्धी व्याख्यात्मक टिप्पणीलाई भ्रमात्मक घोषणापत्र भएको आरोप लगाएका छन्।
उक्त टिप्पणीमाथि छलफलमा भाग लिँदै नेता रावलले यस्तो बताएका हुन्। उनले ११ बुँदे उक्त व्याख्यात्क टिप्पणीलाई ठगपत्र समेत भएको आरोप लगाएका हुन्।
'मैले पहिले भनेको थिएँ, कुनै रात हल्लाखल्लाबीच एमसीसी अनुमोदन गरिनेछ। कहिल्यै कसैको अधीनमा नगएको देश हतारहतारमा छलफल गरेर यो अवस्थामा पुर्याइयो। यो भ्रमात्मक घोषणा हो। म अन्तराष्ट्रिय कानुनको विदार्थी हुँ, एकपक्षीय ढंगबाट यो प्रतिनिधसिभाबाट एमसीसी पारित गरिँदैछ,' नेता रावलले भने।
संसदले निर्लज्जताका साथ एमसीसीसम्बन्धी प्रस्तावलाई अघि बढाएको समेत उनको आरोप थियो। 'यो नेपाली जनताको स्वाधीनतामा कलंकको रुपमा स्थापित हुनेछ,' उनको भनाइ छ।
'म यहाँबाट चुनौती दिन चाहन्छु, यो कसरी यो राष्ट्रघाती छ भनेर भन्न सक्छु। हाम्रो भूमिकामाथि विदेशी कम्पनीको कब्जा हुन्छ म सविस्तार भन्न सक्छु,' रावलले भने।