काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनि मतले पारित भएपछि बैठक अहिले साँझ साढे ६ बजे बस्नेगरी स्थगित भएको हो।
त्यसअघि विभिन्न दलका सांसदहरुले एमसीसीबारे आफ्नो धारणा राखेका थिए भने अर्थमन्त्री शर्माले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए।
सरकारले आजै प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने तयारी गरेको छ। अहिले प्रतिनिधिसभा बैठक नचलेका बेला संसद् भवनमा रहेको कार्यव्यवस्था परामर्श समितिको हलमा मन्त्रिपरिषद् बैठक बस्नेछ।
उक्त बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी गर्ने निर्णय गर्नेछ। प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गर्ने तयारी छ। त्यसपछि एमसीसी सम्झौतामा दफावार छलफल हुने र मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेको बताइएको छ।