काठमाडौं– सरकारले आजै प्रतिनिधिसभाबाट अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने तयारी गरेको छ। आज नै प्रतिनिधिसभाको दोस्रो बैठक डाकेर एमसीसी पारित गर्ने योजना बनेको हो।
अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ। बैठकमा एमसीसी सम्झौताबारे सामान्य छलफल भइरहेको छ। निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए।
त्यसपछि विभिन्न दलका सांसदहरुले धारणा राखिरहेका छन्। एकजना सांसदलाई ५ मिनेटको समय दिइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भने बैठक सुरु भएदेखि नै नाराबाजी गरिरहेका छन्। यद्यपि, सोही पार्टीका सांसद भीम रावलले भने छलफलमा भाग लिएका थिए।
सांसदहरूले बोलिसकेपछि अर्थमन्त्री जनार्दन शर्माले त्यसको जवाफ दिनेछन्। त्यसपछि प्रतिनिधिसभाको चालू बैठक सकिनेछ र सभामुखले आजै अर्को बैठक डाक्नेछन्। प्रतिनिधिसभा बैठक नचलेका बेला संसद् भवनमा रहेको कार्यव्यवस्था परामर्श समितिको हलमा मन्त्रिपरिषद् बैठक बस्नेछ।
उक्त बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी गर्ने निर्णय गर्नेछ। प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गर्ने तयारी छ। त्यसपछि एमसीसी सम्झौतामा दफावार छलफल हुने र मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेको बताइएको छ।