काठमाडौं– जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
आज आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
बुधबार शाहविरुद्ध एक नाबालिक गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो। फरार रहँदै पलले आज दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए।
उता, पीडित परिवार उनीविरुद्ध अर्को जाहेरी लिएर नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोट पुगेको छ। पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा आफूमाथि पलले ०७७ चैत ७ गते गैँडाकोट रिसोर्टमा पटकपटक जबर्जस्ती करणी गरेको आरोप छ।