काठमाडौं- एमसीसी आन्दोलनबारे सार्वजनिक भएका सामग्रीमाथि फ्याक्ट चेक गरी सत्यतथ्य विवरण पस्केका पत्रकार उमेश श्रेष्ठलाई प्रहरीले नै साइबर क्राइमको मुद्दा लगाउने धम्की दिएको छ। माई संसार डटकम (ब्लग)मा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले श्रेष्ठलाई धम्की दिएको हो।
अमेरिकी सहयोग सम्झौता (एमसीसी)लाई सरकारले संसदमा टेबल गरेपछि युट्युब र सामाजिक सञ्जालका फेक न्युजबारे श्रेष्ठले माइ संसारमा ब्लग लेखी श्रेष्ठले फ्याक्ट चेक गरेका थिए। पत्रकार श्रेष्ठलाई प्रहरीले नै धम्की दिएको र अनावश्यक सोधुपुछ गरेको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
'माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,' महासंघ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पत्रकार श्रेष्ठले एक ब्लगमा एमसीसीको बारेमा ‘'फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा सामग्री प्रकाशन गरेका थिए। यही विषयमा साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदीन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की दिएका थिए।
'प्रहरीलाई सहयोग पुग्ने आशयमा लेखिएको उक्त ब्लगको भित्री कुरो नबुझी ब्युरोका जिम्मेवार अधिकारीबाट पत्रकारलाई स्पष्टीकरणको मौकासमेत नदिई धम्कयाउने कार्य गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,' महासंघको विज्ञप्तिमा भनिएको छ, 'महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता विषयमा गम्भीर भई यस किसिमका घटना नदोहोर्याउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछ।'
पत्रकार तथा ब्लगर श्रेष्ठले यसबारे लेखेको ब्लग पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्।
फेक न्युज बारे ब्लग लेख्दा झण्डै साइबर ब्युरोको थुनामा परियो