काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता अनुमोदन गरे संविधानको धज्जी उड्ने बताएका छन्। प्रतिनिधि सभामा एमसीसी अनुमोदन सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद चौधरीले बताएका हुन्।
'एमसीसी अनुमोदनको विषय नेपालको संविधानको धारा २८९ विपरीत छ। संविधानको धज्जी उडाउने काम नगरौँ,' उनले भने। सन् २०१७ मा भएको मूल सम्झौता अनुमोदन नहुँदै कार्यान्वयन सम्झौता गरिएको विषयमा पनि उनले प्रश्न उठाएका थिए। 'सन् २०१९ मा कार्यान्वयन सम्झौता कसरी गर्यो? कार्यान्वयन सम्झौताले नेपाललाई दिएको अधिकार एमसीसीलाई दिएको छ,' उनको भनाइ थियो।
अमेरिकाले आफ्नो सैन्य रणनीतिका लागि आइपीएस ल्याएको र एमसीसी केवल आर्थिक सहयताको प्याकेज मात्र नभएको कुरा बताइसकेको उनको टिप्पणी गरे। 'कुनै शक्ति राष्ट्रको सैन्य स्वार्थका लागि हामीले नेपाललाई प्रयोग हुन दिन सक्दैनौँ। नेपाल असंलग्न राष्ट्र हो। पञ्चशीलको नीति मान्ने देश हो। यसका पक्षमा नलागौँ। यसले घातक परिणाम ल्याउँछ,' चौधरीको भनाइ छ।
महाकाली सन्धिका बेला पनि मिठा आश्वासन दिएको तर त्यसैकारण लिम्पियाधुरा र लिपुलेकमा भारतले कब्जा जमाएको उनको भनाइ थियो।
नेपाल इतिहासमा कसैको दास नभएको तर एमसीसीमार्फत् हामीलाई दास बनाउन खोजिएको उनको भनाइ थियो।